दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड शीर्ष स्थानमा

एजेन्सी:  दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्याण्ड इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बिर्मिनघममा बुधबार दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

वर्षाले प्रभावित हुँदा ४९ ओभरमा झारिएको खेलमा दक्षिण अफ्रिकाले दिएको २४२ रनको मध्यम लक्ष्य न्युजिल्याण्डले ४८ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।  न्युजिल्याण्डको जितमा कप्तान केन विलियमसनले शतकीय इनिङ्स खेले । अविजित रहेका विलियमसनले १३८ बलमा ९ चौका र १ छक्कासहित १०३ रन बनाए । योसंगै विलियमसनले विश्वकपमा आफ्नो पहिलो शतक बनाउन सफल भए ।

यस्तै कोलिन डी ग्राण्डहोमे ६० रनको अर्धशतकीय इनिङ्स खेले । मार्टिन गुप्टिलले ३५ तथा जेम्स निशमले २३ रन बनाए ।दक्षिण अफ्रिकाका क्रिस मोरिसले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभरमा ६ विकेट गुमाएर २४१ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि भान डेर डुसनले अविजित रहदै ६७ तथा हसिम अमलाको ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । त्यस्तै एडिन मार्क्रमले ३८, डेभिड मिल्लरले ३६ तथा कप्तान फाफ डु प्लेसिस २३ रन बनाए । ओपनर क्विनटन डि कक ५ रनमा आउट भए ।

न्युजिल्याण्डका लोकी फर्गुसनले ३ विकेट लिए ।  जितसंगै शीर्ष स्थानमा उक्लिएको न्युजिल्याण्डले ५ खेलबाट ९ अंक जोडेको छ । अपराजित न्युजिल्याण्डको चौंथो जित हो ।

दक्षिण अफ्रिकाको यो चौथो हार हो । ६ खेल खेलेको दक्षिण अफ्रिकाको ३ अंक रहेको छ । दक्षिण अफ्रिका लिगको पुछारबाट तेस्रो स्थानमा छ ।


प्रकाशित | ५ असार २०७६, बिहीबार ०७:३२