बझाङ जीप दुर्घटना अपडेट: एकै परिवारका तीनसहित १० जनाको ज्यान गयो

बझाङ : बझाङमा जीप दुर्घटना अहिलेसम्म ज्यान गुमाउनेको संख्या१० पुगेको छ । सदरमुकाम चैनपुर नजिकै डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाँउपालिका – १ डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा १० जनाको घटना स्थलमा नै ज्यान गएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते ३ जनाको अवस्था चिन्ताजनक रहेको र उनीहरुको उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताउनुभयो । अन्य २ जना घाइतेको जिल्ला अस्पताल सिमखेतका उपचार भैरहेको छ ।

दुर्घटनामा एकै गाँउका ७ जनाको ज्यान गएको छ भने एकै परिवारका ३ जनाको ज्यान गएको हो । ज्यान जानेमा मष्टा गाँउपालिका –१ कोटदेवलका एकै परिवारका ४० वर्षीय कलक खड्का उनकी श्रीमती ४८ वर्षीया जुनधारा खड्का र उनका १२ बर्षीय छोरा सरोज खड्काको ज्यान गएको हो । यस्तै यही गाउँका १९ वर्षीय हिक्मत खड्का, ५२ वर्षीया धौलीदेवी खड्का, १५ वर्षीया जुना खड्का, ८ वर्षीया विपना खड्काको ज्यान गएको छ । यस्तै, मष्टा गाँउपालिका– १ कै रनाडा गाउँका ३० वर्षीय भक्त द्धाल र ३५ वर्षीया लक्ष्मी द्धाल र जिनाडा गाउँका २२ वर्षीय जीप चालक सुरेन्द्र थापाको ज्यान गएको वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक माहानन्द जोशीले जानकारी दिनुभयो ।


प्रकाशित | ३ असार २०७६, मंगलवार ०८:४९