आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण : प्रकाश अधिकारी, मेयर, टोखा नगरपालिका

काठमाडौं : टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले समाजलाई आर्थिक रूपान्तरण गर्नका लागि सहकारी संस्थाको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । नगरपालिकाको सहकारी संस्था सञ्चालन तथा वित्तिय व्यवस्थापन सम्बन्धि जेठ २२ देखि २४ गतेसम्म चलेको तीन दिने तालिम कार्यक्रममा उहाँले सहकारी संस्थाले छरिएर रहेको थोरै थोरै पुँजीलाई एकीकृत गर्ने काम गरेको भन्दै यसले सर्वसाधारण नगरिकको आर्थिक र सामाजिक रूपान्तरणमा ठूलो सहयोग पुगेको बताउनुभयो ।

सहकारी सम्बन्धि अधिकार स्थानीय तहको भएकाले टोखा नगरपालिकाले सहकारीलाई व्यवस्थापन गर्नका लागि सहकारी नीति निर्माण गरी, सहकारी सम्बन्धि तालिम लगायतका कार्य गर्दै आएको उहाँले स्पष्ट गर्नुभयो । स्थानीय तहको वित्तिय व्यवस्थापन प्रभावकारी बनाउने सहकारी तालिम र प्रशिक्षण अत्यावश्यक भएको अधिकारीको भनाइ छ । सो अवसरमा टोखा नगरपालिका वडा नं.५ वडा कार्यालय धापासी श्रीसमाजमा सञ्चालित प्रशिक्षणमा सहकारी विज्ञहरुले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

सहकारी विज्ञ कमलराज अधिकारीले सहकारी संस्था सञ्चालन तथा वित्तिय व्यवस्थापनका सवल पक्षका बारेमा प्रशिक्षण प्रदान गर्नुभयो । कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले सहकारी संस्थाले व्यक्तिको जीवनमा सकारात्मक सन्देश ल्याएको बताउनुभयो ।  टोखा नगरक्षेत्र भित्र रहेका सहकारी संस्थामा आबद्ध व्यक्तिलाई लक्षित गरी सो प्रशिक्षण प्रदान गरिएको थियो ।


प्रकाशित | ३० जेष्ठ २०७६, बिहीबार २१:३४