कांग्रेसको पहिलो चरणको जागरण अभियान उपलब्धीमूलक भएको निस्कर्ष

काठमाडौं: निर्वाचनबाट अनपेक्षित हार बेहोरेको नेपाली कांग्रेसले सञ्चालन गरेको पहिलो चरणको जनजागरण अभियान आजबाट समापन गरिएको छ । गत २५ बैशाखमा शूरु गरिएको पहिलो चरण अन्र्तगतको जनजागरण अभियान उपलब्धीमूलक भएको नेताहरुले निस्कर्ष निकालेका छन् । पार्टीका नेता तथा कार्यकर्तालाई अभियानले सक्रिय बनाउँन सहयोग पुगेको र सरकारका गलत कामको खुलेर आलोचना गर्ने शैलीको विकास गराइदिएको नेताहरुले बताएका हुन ।

 कांग्रेसका युवा नेता गगन कुमार थापाका अनुसार अभियानले देशैभरका नेता तथा कार्यकर्तालाई परिचालन गरेर संगठन सृदृढीकरणमा ठूलो भूमिका खेल्न सफल भएको छ । पहिलो चरणको एक महिने अभियानलाई थापाजस्तै धेरै नेताहरुले उत्साह थपेको प्रतिक्रिया दिएका हुन । तर केहि नेताहरुले भने पार्टीभित्र गुटगबन्दी कायम रहेको र जनजागरण अभियानको नाममा गुटबन्दीलाई संस्थागत गर्ने प्रयास भएको भन्दै आलोचना गर्ने गरेका छन् ।

यो पटक एक महिने अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको थियो। वैशाख २५ गतेदेखि ‘हिमाल, पहाड, तराई मधेस, नेपाली कांग्रेस’ नारासहित सुरु गरेको पहिलो चरणको जनजागरण अभियान शनिबार समापन भएपछि अब दोस्रो चरणको अभियान सञ्चालन गरिनेछ ।

कांग्रेसले पार्टीका संगठन बलियो बनाउनेदेखि सरकारका गलत क्रियाकलापविरुद्ध आमजनतालाई सचेत गराउनेसहित विभिन्न १५ उद्देश्य लिएर जनजागरण अभियान गरेको थियो । अब भदौ २४ देखि असोज ७ गतेसम्म प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा दोस्रो चरणको र ७ पुसदेखि १६ माघसम्म ७५३ वटै स्थानीय तहमा अभियानका बाँकी कार्यक्रम आयोजना गर्ने घोषणा गरिएको छ ।


प्रकाशित | २५ जेष्ठ २०७६, शनिबार २०:३९