बैंकहरू मर्जरमा गए जोखिम बहन गर्ने क्षमता बढ्छ: अनलराज भट्टराई, अर्थशास्त्री

अनलराज भट्टराई, अर्थशास्त्री

आगामी आर्थिक वर्षको बजेटले बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जरका लागि प्रोत्साहन गर्ने भनेको छ । यसले अवसर सिर्जना गर्छ । बैकिङ क्षेत्रमा पछिल्लो ५ वर्षमा एक हजारभन्दा धेरै अर्बको निक्षेप तथा कर्जा बढेको छ । यो वृद्धिमा केही जोखिम पनि छ । त्यो वृद्धिभित्रको जोखिम न्यूनीकरणका लागि पनि बैंकहरू मर्जरमा जानु आवश्यक छ ।

बैंकहरूले धितोको रूपमा लिने जग्गाको मूल्यमा बबल आएको हुनाले त्यसले पनि केही इफेक्ट गर्नसक्छ । अहिले मर्जरमा गएको खण्डमा जोखिम बहन गर्ने क्षमता बढ्छ । त्यसका साथै बैंक वित्तीय संस्थाको पछिल्लो समयमा खराब कर्जा बढ्ने सम्भावना छ । त्यो जोखिम व्यवस्थापन गर्नका लागि पनि मर्जर आवश्यक छ । सरकारले पनि बजेटमार्फत मर्जरमा जादाँ आयकरमा छुट दिने भनेको छ । यसलाई अवसरको रूपमा लिएर वित्तीय स्थायित्वका लागि मर्जरमा जानु नै उपयुक्त हुन्छ ।

आगामी आर्थिक वर्षको बजेट १५ सय अर्बको बनाएको अवस्थामा सरकारले खर्च बढाउने देखिन्छ । बजेटले भने काम भएको खण्डमा तरलता बढ्न सक्छ । निजी क्षेत्रको कर्जाको माग पनि बढ्न सक्छ । तर, नयाँ स्रोत नभएको हुनाले र सरकारी खर्चमै भर गर्नुपर्ने भएकाले आगामी वर्षमा पनि स्रोत अभाव तथा कर्जा प्रवाह नियन्त्रण गर्नुपर्ने अवस्था आउने सम्भावना छ ।

अहिलेको अवस्था नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजी, कर्जा तथा निक्षेप अनुपातलाई चलाउने सम्भावना निकै कम छ । यसले गर्दा ब्याजदरमा असर गर्ने देखिन्छ । तर, सरकारले असारसम्म खर्च गर्न नसकेको रकम साउनको महिनामा पनि खर्च गर्नसक्ने व्यवस्थाले भने कतै सहज हुन्छ कि भन्ने देखिन्छ । आर्थिक वर्षको सुरुवातीमा बैंकहरूमा कर्जा लगानीयोग्य रकमको उपलब्धता सहज हुने देखिन्छ । तर, त्यसले समग्र आर्थिक वर्षभरि काम गर्न सक्दैन । विगतको समस्या आगामी आर्थिक वर्षमा पनि देखिने सम्भावना रहन्छ ।

तर, बैंकहरूका लागि अर्को नयाँ अवसरको रूपमा बहुमूल्य धातुहरूलाई निक्षेप लिने र पुँजीकरण गर्ने पनि बजेटले गरेको छ । नेपालीहरूको २१ क्यारेटको गरगहना बनाउने चलन छ । त्यसले गर्दा पर्याप्त सुन बैंकमा निक्षेप आउँछ भन्ने सम्भावना कम छ । बैंकले निक्षेप लिँदा २४ क्यारेटको सुन चाहिन्छ भन्छ । तर, पनि यसले अवसर सिर्जना गरेको छ । तर, यसलाई कसरी र कसतो संयन्त्रबाट प्रक्रिया अघि बढाइन्छ भन्ने कुरा बाँकी नै छ । यसले वित्तीय स्थायित्व कम गर्न सहयोग गर्ने सम्भावना छ । त्यसैले बजेटमा आधारित हुदाँ वित्तीय क्षेत्रलाई अवसर पनि छ र स्थायित्व कायम राख्न चुनौती पनि छ ।

पुँजी बजारको सन्दर्भमा आगामी आर्थिक वर्षको बजेटले पुँजीगत लाभकर घटाएको छ । त्यसले लगानीकर्ताको मनोबल सकारात्मक हुन्छ । अहिले धितोपत्र बजारमा सेयरको आपूर्ति धेरै छ । आपूर्तिअनुसारको माग छैन । बैंक तथा वित्तीय संस्था कर्जा लगानीयोग्य रकमको दबाबमा भएको र ब्याजदर नघटेको हुनाले सेयर बजार नकारात्मक भएको हो । सेयर बजारमा अहिले लगानी गर्न सकेको खण्डमा प्रतिफल पनि छिट्टै आउने देखिन्छ । धितोपत्र बजार पहिलेको जस्तो एकै पटक बढ्ने् हँुदैन । तर, सुधारको गतिमा जान्छ । समग्रमा बजेटको आकार ठूलो भएको हुनाले आर्थिक रूपमा बजेट कार्यान्वयनमा समस्या छ ।


प्रकाशित | २० जेष्ठ २०७६, सोमबार ११:५४