जन्मसिद्ध र वंशजको नाममा वितरण गरिएको नागरिकताबारे छानविन हुनुपर्ने नेता रावलको माग

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले जन्मसिद्ध र वंशजको नाममा वितरण गरिएको नागरिकताबारे छानविन हुनुपर्ने माग गर्नुभएको छ । नेता रावलले नागरिकता विधेयकमा गैरकानुनी रुपमा नागरिकता वितरण गरिएको छ भने छानविन हुने ब्यवस्था उल्लेख हुुनुपर्नेमा जोड दिनुभएको हो । नागरिकता वितरण गरिने विषय नभएको भन्दै रावले वितरणको प्रणाली हटाउनुपर्ने भन्दै भन्नभयो, ‘संसारमा कहि पनि वितरण हुँदैन। सम्बन्धित व्यक्तिले खोजेको अवस्थामा प्राप्त गर्ने चिज हो’

नागरिक दैनीकले गरेको कुराकानीमा बोल्दै रावलले चीन भारतजस्ता विशाल देशको बीचमा रहेकाले नेपालको भूराजनीति जटिल अवस्थामा रहेकाले नागरिकताको विषयलाई संवेदनशील रुपमा लिनुपर्ने विचार ब्यक्त गर्नुभयो । ‘भारतमा हाम्रा चेली बिहे गरेर जाँदा ७ वर्ष कुनुपर्ने, अनि हामीले भारतबाट बिहे गरेका आएका चेलीलाई एक हातमा सिन्दुर, अर्को नागरिकता। अझ सकिन्छ भने अर्को हातमा मन्त्री पद। यस्तो तरिकाले नेपालको अस्तित्व दिर्घकालिन रुपमा जोगिन सक्दैन’, उहाँको भनाइ छ ।

रावलले भन्नुभयो, ‘हामीले नेपालका नागरिक सबैलाई विदेश पठाउने, यहाँ पढेलेखेका, डाक्टर, इन्जिनियर, धेरै ठूलो लगानी भएर शिक्षा आर्जन गरेका व्यक्तिलाई विदेश पठाउने, तर विदेशीहरुलाई नेपालभित्र हुल्ने। यस्तो तरिकाको नागरिकता नीतिले जनसंख्याको राजनीतिबाट अन्ततः हाम्रो देशको अस्तित्वलाई समाप्त गर्ने दिशातिर लैजान्छ।’


प्रकाशित | ९ जेष्ठ २०७६, बिहीबार २१:४०