कतार विश्वकपमा ३२ राष्ट्रको मात्र सहभागिता रहने

काठमाडौं : सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपमा ३२ राष्ट्रको मात्र सहभागिता रहने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ३२ राष्ट्रको मात्र सहभागिता रहने जनाएको हो । सम्पूर्ण पक्षमाथि व्यापक रुपमा भएको अध्ययन र परामर्शबाट सहभागी टिमको संख्या आगामी विश्वकपमै बढाउन सक्ने अवस्था नदेखिएको फिफाले जनाएको छ । यसअघि गत चैतमा अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिलको बैठकले कतार विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाउने निर्णय गरेको थियो ।

तर, फिफाले गल्फ राष्ट्रबीच पछिल्लो समय घटेको राजनीतिक द्वन्दको कारण आयोजक राष्ट्र थप्न नसकिने हुँदा ४८ देश सहभागी गराउन मुस्किल हुने निस्कर्ष निकालेको जनाएको छ ।  फिफाको पछिल्लो निर्णयसंगै २२ औं संस्करणको विश्वकप कतारमा मात्र र ३२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्र हुने यसअघि नै तय भईसकेको छ । फिफाले कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरिसकेको छ ।


प्रकाशित | ९ जेष्ठ २०७६, बिहीबार १०:२७