प्रहरीलाई घुस १० रुपैयाँ सम्म ! एक सय १४ जना पक्राउ

काठमाडौं: उपत्यकाभित्र ड्युटीमा रहेका प्रहरीलाई घुस दिन खोज्ने एक सय १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश चालक छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकअनुसार पक्राउ परेकाले प्रहरीलाई १० रुपैयाँदेखि चार हजार पाँच सय रुपैयाँसम्म घुस दिन खोजेको नयाँ पत्रिकामा खबर छ । पछिल्लो ६ महिनामा टिपर, बस, ट्रक, ट्याक्सी र बलेरोका गरी ९३ चालक र ६ जना सहचालक पक्राउ परेका हुन् । १५ जना मोटरसाइकलचालक पनि पक्राउ परेका छन् । प्रहरीलाई घुस दिन खोजिएको रकम ८२ हजार दुई सय १० रुपैयाँ पुगेको छ ।

रानीपोखरी कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले घुसमा प्रहरीले शून्य सहनशीलताको नीति लिएको बताए । उनले भने, ‘पछिल्ला दिन प्रहरीले घुस लिने र दिनेमा शून्य सहनशीलता नीति लागू गरेको छ । घुस लिने र दिने कोही भेटिए ठाउँका ठाउँ कारबाही गरिने सर्कुलर छ । यो परिणाम यसैको प्रभाव हो । यसलाई प्रहरीले अझ कडाइका साथ कार्यान्वयनमा लैजानेछ ।’

प्रहरीका अनुसार अधिकांश चालकले सवारीचालक अनुमतिपत्र तथा ब्लुबुक नभएपछि प्रहरीलाई घुस दिने प्रयास गरेका छन् । मादकपदार्थ सेवन(मापसे) गरी सवारीसाधन चलाउनेले पनि प्रहरीलाई घुस दिन खोजेका छन् । तर, प्रहरीले घुस दिनेलाई नै पक्राउ गर्न थालेपछि पछिल्ला दिन घुसको घटनामा कमी आएको छ ।


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार ०८:५१

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *