सोम मिश्र चाँगुनारायण नगरपालिकाका मेयर हुनुहुन्छ। सुदूरपूर्वी जिल्ला ताप्लेजुङको हाङ्देवामा जन्मिएका मिश्र परिवारसहित २०४० सालमा कैलाली पुग्नुभयो। ०४३ सालमा पढ्न काठमाडौं आउनुभएको मिश्र ०४५ सालदेखि भक्तपुरमा बस्न सुरु गर्नुभयो । भक्तपुरमै उहाँले राजनीतिक जीवन सुरुवात गर्नुभयो भने यहीँका स्थानीय बासिन्दा समेत हुनुभयो । भक्तपुरमा मिश्रले तत्कालिन नेकपा एमालेको वडा कमिटी सदस्य, सचिव, गाउँ कमिटी सदस्य, सचिव, इलाका कमिटी सदस्य, सचिव, जिल्ला कमिटी सदस्य, कार्यकारी जिल्ला सचिव हुँदै पार्टी केन्द्रीय सदस्य सम्म हुनुभयो । ‘कुनै पद नदोहोर्याइकन सबै कमिटीमा बसेर काम गरेँ,’ उहाँ भन्नुहुन्छ, ‘हिरासतमा रहेका बेला बाहेक निष्क्रिय पनि कहिल्यै बसिनँ ।’ पार्टीमा संगठित हुँदै २०४३ मा काठमाडौं पिपुल्स कलेजको स्ववियु सचिव र २०५४ मा भक्तपुर जिविस सदस्य निर्वाचित भएका मिश्र भौगोलिकरुपमा सबैभन्दा ठूलो चाँगुनारायण नगरपालिकाको मेयर निर्वाचित हुनुभयो। प्रस्तुत छ, मिश्रसँग गरिएको सम्वादको सम्पादित अंश–
ताप्लेजुङमा जन्मिएको, कैलालीसम्म पुगेको व्यक्ति चाँगुनारायण नगरपालिकाको पहिलो सरकार प्रमुखकोरुपमा निर्वाचित हुनुको पछाडि के कारण रह्यो ?
भक्तपुर भौगोलिकरुपमा सानो जिल्ला हो । तर, चाँगुनारायण भने भौगोलिकरुपमा सबैभन्दा ठूलो नगरपालिका हो । तत्कालिन ८ गाविस र २ नगरपालिका मर्न भएर चाँगुनारायण बनेको हो । ०४५ देखि म यहीँ निरन्तर छु । जहाँ पनि मिहिनेतपूर्वक लाग्ने गरेको छु । शिक्षण क्षेत्रमा थिएँ । त्यहाँ पनि मिहिनेत गरेँ । कोही पनि एसएलसी फेल भएनन् । मैले मेयर उठ्ने योजना बनाएको थिइनँ । मैले सोचेको पनि थिइनँ । तर, मैले नउठ्ने भन्दा धेरैले दबाब दिए । रातभर सुत्न पनि दिएनन् । सबैको सहानुभूतिलाई नकार्न सकिनँ । मुड बदलेँ । सबैको सहानुभूतिले जितेँ । यहीँका जनतासँगको लामो हेलमेल र भूकम्पपछिको पुनर्स्थापनामा मैले गरेको योगदानलाई जनताले सम्झनुभएको रहेछ भन्ने लाग्यो ।
डेढ वर्षमा भएको कामको प्रगतिलाई कसरी समीक्षा गर्नुहुन्छ ?
अहिले योजना निर्माणको अवस्थामा छौं । कर्मचारी, नियम कानुनको अभाव थियो । अन्यौलपूर्ण अवस्था थियो । धेरै कानुन संशोधनको अवस्थामा थियो । भौगोलिकरुपमा चाँगुनारायण ठूलो छ । छरिएको वस्ती छ । ठूलो भुगोल हुनुको फाइदा पछि होला नै । जनताले अपेक्षा धेरै गरेका छन् । तपाईंको सडकलाई बजेट दिन सकिएन भन्यो भने पनि कोही मान्नेवाला छैनन् । जटिलता धेरै छ । शिक्षामा विकृति विसंगति छन् । गर्न सकिँदैन होला कि भन्नेजस्तो लाग्दैन । सुरुमा त म आत्तिएको थिएँ । केही गर्न नसकिने हो कि । यहीँ हराउने हो कि । यति लामो राजनीतिक जीवन समाप्त हुने हो कि भन्ने लागेको थियो । तर अहिले लय समातेको छ । खानेपानीको डिपबोरिङ गरिएको छ । पाइपलाइन सुरु भएपछि यो समस्या समाधान हुन्छ । खानेपानी, सरसरसफाई, भौतिक पूर्वाधारलगायतका काम सुरु भएका छन् । शतप्रतिशत सन्तुष्ट छैन, तर मूलतः सन्तुष्ट छु । साथै, घरधूरी सर्वेक्षण गर्ने चाँगुनारायण पहिलो नगरपालिका हो । लोगो, नगर गान बनाउने पनि सम्भवतः पहिलो नै हौं । रणनीतिक योजना बनायौँ । चाँगुनारायणलाई सामाजिक विकास मन्त्रालयले सम्मान गरेको छ । ५–१४ वर्षसम्मका बालबालिका स्कुल बाहिर छैनन् । शतप्रतिशत विद्यालय गएका छन् । वडा नम्बर १ मा वीर अस्पतालको ओपीडी सुरु भएको छ । अब ल्याब र विशेषज्ञ सेवा सुरु हुन्छ । धेरै योजनाहरु बनाएका छौं, विस्तारै कार्यान्वयन हुन्छ ।
उसो भए चुनावी प्रतिबद्धता पूरा गर्न सक्ने अवस्थामा हुनुहुन्छ ?
लगभग गर्न सकिन्छ । चुनावमा गरेको प्रतिबद्धता शतप्रतिशत होइन, ९० प्रतिशत गर्न सकिन्छ । चुनावमा प्राविधिक परीक्षण गरेर योजना बनाइँदैन । राजनीतिक पोलिसी गाइड हुन्छ । सम्भव हुने कुराहरु गरिन्छ ।
तपाईंकै आयोजनामा उपत्यकाका मेयरहरुको भेला भएको छ । किन आवश्यक ठान्नुभयो ?
मेयर भेला गर्नुका पछाडि दुइटा कुरा छन् । म पार्टीको आठौंदेखि नवौं महाधिवेशन बीचको अवधिमा संघीय मामिला विभागको सदस्य थिए । त्यसबेला सभासदलगायत विज्ञसँग कार्यशाला गर्यौँ । त्यतिबेलाका विकास क्षेत्रमा कार्यपत्र प्रस्तुत गरेका थियौँ । राजधानीलाई प्रदेशभन्दा तल राख्ने होइन । यो छुट्टै स्वायत्त प्रदेश हुनुपर्छ भन्ने निष्कर्ष हाम्रो थियो । विश्वका ठूला नगरहरु दिल्ली, लन्डन, वासिङ्टन डीसी कुनै प्रदेशअन्तर्गत पर्दैनन् । हामीले पनि राजधानीलाई महानगर बनाउने । तर यसलाई कुनै प्रदेशमा नपार्ने भन्ने सोच अघि सारेका थियौं । तर सम्भव भएन ।
मैले त्यहाँ व्यक्त गरेको कुरा त होइन तर अहिले पनि म उपत्यकाका १८ वटै नगरपालिकाकाको ‘मेट्रोपोलिटन सिटी’ बनाउनुपर्छ भन्ने पक्षमा छु । त्यसको अभ्यास हो । अर्को, यहाँका नगरपालिकाका धेरै समस्याहरु साझा छन् । जस्तै– फोहोर, सडक यातायातलगायत । सडकको मापदण्ड भक्तपुरकै मध्यपुर थिमी र चाँगुनारायामा फरक फरक छ । कम्तिमा यस्ता कुराहरुमा समानता हुनुपर्छ भन्ने हो । करमा पनि समानता हुनुपर्छ । सबै नगरपालिकाबाट कवाडी उत्पादन हुन्छ । तर, कवाडी कर चाँही चन्द्रागिरी नगरपालिकाले मात्रै उठाउँछ । त्यसका लागि साझा संयन्त्र बनाउनेमा सहमत भएका छौं । केही समय त पक्कै लाग्दा । यो त्यसको सुरुवात हो । अहिलेलाई काठमाडौं महानगरपालिकाका प्रमुखको नेतृत्वमा उपत्यका नगरपालिका फोरम बनायौं । ललितपुरका उपमेयर सहसंयोजक हुनुहुन्छ । संघीय सरकार, प्रदेश सरकार र लगानी बोर्डसँग छलफल गरेर योजना बनाउँछौं ।
उपत्यकाका नगरपालिकाबीच साझा धारणा बनाइरहँदा छिमेकी काभ्रेको मण्डन देउपुर नगरपालिकासँग तपाईंको नगरको करको विवाद छ नि ?
होटल व्यवसायी करमा केही समस्या देखिए । व्यवसायीलाई व्यवसाय कर लिने भनिएको हो । तर सुरु भएको छैन । अर्को कुरा चाँगुनारायण विश्व सम्पदा सूचीमा सूचिकृत छ । सम्पदा क्षेत्रमा प्रवेश गर्दा जहाँ पनि कर लिने गरिएको छ । मैले मण्डन देउपुरका मेयरसँग कुरा गरेको छु । साझेदारी गर्ने भनिएको छ । तर भएको छैन । यहीबेला कतिपय चाँही स्थानीय तहलाई कमजोर र बदनाम गर्न किचलो निकाल्न लागिपरेका छन् । चाँगुनारायणको क्षेत्रमा आएर, सीमामा आएर कर लिएको पाइएपछि मैले पत्र लेखेको छु । यो विषयको समाधान हुन्छ ।
करको विषयलाई लिएर स्थानीय तह आलोचित छन् । तपाईंले चाँही के गरिरहनुभएको छ ?
गएको वर्ष साढे ५ करोडको राजश्व अनुमान गरिएको थियो, ८ करोड उठ्यो । अहिले १६ करोड अनुमान छ, तर २० करोड उठाउछौँ । सेवा शुल्क र दस्तुरबाहेक जनतासँग एक रुपैयाँ पनि लिएको छैन । लगाएका पनि छैनौँ । बढाएका पनि छैनौँ । पर्यटक, इटा उद्योग, बालुवाखानी, माटोको कर र व्यवसाय कर लिन्छौँ । हामी सम्पत्ति करमा गएनौँ भूमि करमा धेरै आउँदैन ।
स्थानीय तहको अधिकार बढि भयो भन्ने पनि सुनिन्छ नि ?
सिंहदरवार स्रोत र अधिकार दिन तयार छैन । उच्च कर्मचारीहरु नै रोक्ने पक्षमा छन् । उपत्यका विकास प्राकिरण, डोलिडार, शिक्षा विभाग खारेज हुने भएपछि उपसचिवभन्दा माथिका कर्मचारीहरु संघीयता कार्यान्वयन नगर्न लागेका छन् । बदनाम बनाउनतिर लागेका छन् । र, केही मिडिया अण्डामा पनि, कुखुरामा पनि साइकलमा पनि कर लगाएको भनेर बदनाम गर्न लागेका छन् । जनप्रतिनिधि अण्डा कसले पार्यो भनेर जान्छन् ? ठूला व्यवसायी र व्यापारीसँग आज होइन, पञ्चायतकालदेखि नै कर लगाइन्थ्यो । माझीले डुंगा तार्दा पैसा लिन्छ । कर होइन । अनि उसले वर्षमा सरकारलाई केही कर तिर्छ । कसै कसैले अनावश्यक कर लगाए भनेर सबैलाई मुछ्ने काम भएको छ । माननीयहरु, ठूला दलका नेताहरुको पनि यही गलत बुझाइ छ । जनतासँग सांसद, मन्त्री हुँदैनन् । जनतासँग त स्थानीय तहका प्रतिनिधिहरु हुन्छन् । तलमाथि गरे भने २० जनाले नै गलाइहाल्छन् नि । मेरो जनता रिसाउँछन् कि भन्ने हुन्छ ।
चाँगुनारायण मन्दिरलाई नै अप्ठ्यारो पार्ने गरी बालुवाखानी सञ्चालन गर्ने कुरा आइरहेको छ नि ?
त्यहाँ बालुवाखानी चलाउनुहुँदैन भनेर नेतृत्व गर्ने म नै हुँ । म मेयर नहुँदा पनि सिडियोसँग पटक पटक गएर रोक्ने काम गरेको हो । जनप्रतिनिधि नहुँदा पनि रिस्क मोलेर गरे । पार्टीमा नै मलाई अप्ठ्यारो पार्ने काम पनि भयो । नगरपालिका नै चाँगुनारायण छ । यसलाई असर गर्न दिइँदैन । सेटिङमा बालुवा निकाल्न दिइँदैन । हिजो नागरिककोरुपमा त चाँगुनारायण जोगाउन लागेको थिएँ भने आज त मेयर भएको छु ।
चाँगुनारायण नगरपालिकाका लागि तपाईंले देखेका सपनाहरु के–के छन् ?
स्मार्ट सिटीको योजना बनाएको छु । फिनल्याडको एउटा कम्पनीले डीपीआर बनाउँदैछ । ९ महिनामा तयार हुन्छ । आवासीय प्राविधिक शिक्षालयको योजना बनाएका छौं, नगरकोटमा भ्यू टावर बनाउने योजना छ । त्यसको लागत १ अर्ब ५३ करोडको आएको छ । वीर अस्पताल यहीँ हुन्छ । रोड स्तरोन्नति गरिन्छ । ५ वर्षमा आधा र १० वर्षमा चाँगुनारायणमा निजी स्कुल हुँदैनन् । कानुन बनाएर, कर लगाएर होइन, सामूदायिक विद्यालयमा स्तर सुधार गरेर निजी विद्यालय प्रतिस्थापन गर्दै जाने हो । विद्यार्थी नगएपछि स्वतः बन्द हुन्छ । पिउन लायक प्रमाणित भएको धारा हरेक घरमा पुर्याउने लक्ष्य छ । हामी धेरै कामलाई तीब्रताका साथ अघि बढाउछौं ।
प्रकाशित | १९ चैत्र २०७५, मंगलवार ०८:०५