अस्ट्रेलिया निर्वाचन: प्रधानमन्त्री मोरिसन नेतृत्वको गठबन्धनको ‘आश्चर्यजनक जित’

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो कन्जर्भेटिभ गठबन्धनलाई आश्चर्यजनक नतिजा सहित सङ्घीय चुनावमा पुर्ननिर्वाचित गराएको भन्दै धन्यवाद दिएका छन्।  उनले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ‘आफूले सधैँ आश्चर्यमा विश्वास गरेको’ बताएका थिए। आइरहेका चुनावी नतिजामा लिबरल न्याश्नल गठबन्धन बहुमत नजिक देखिएको हो।

विपक्षी लेवर पार्टीका नेता विल सर्टनले हार स्विकार्दै राजिनामा घोषणा गरेका छन्।  एग्जिट पोल भनिने मतदान गरेर निस्किरहेकाहरूसँग गरिएको सर्वेक्षणहरूले लेवर पार्टी ६ वर्षमा पहिलोपटक झीनो बहुमतले विजयी हुने देखाएका थिए।  निर्वाचनको अन्तिम नतिजा सार्वजनिक हुन अझै केही घण्टा लाग्ने भए तापनि ७० प्रतिशतभन्दा बढी मत गणना भइसकेपछि कन्जर्भेटिभ गठबन्धनको विजय र अग्रता सुनिश्चित देखिएको हो।

बहुमतका लागि चाहिने ७६ सीटमध्ये कन्जर्भेटिभले ७४ जितिसकेको छ भने लेवरले ६६ स्थानमा विजय हासिल गरेको छ।  अस्ट्रेलियामा अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था छ। यस निर्वाचनमा एक करोड ६४ लाख मतदाता सहभागी भएका थिए। यस निर्वाचनमार्फत् अस्ट्रेलियाको संसद्‍ले नयाँ प्रतिनिधि सभा पाउनेछ भने माथिल्लो सदन सिनेटमा आधाभन्दा बढि सांसदहरू पुग्नेछन्।

प्रधानमन्त्री मोरिसनले विपक्षीलाई धन्यवाद दिँदै आफ्नो गठबन्धनलाई मतदान गर्ने ‘स्थिर अस्ट्रेलियालीहरू’प्रति कृतज्ञता व्यक्त गरेका छन्। “यी तिनै अस्ट्रेलियालीहरू हुन् जो दैनिक निकै मिहिनेत गर्छन्, उनीहरूका आफ्नै सपना र महत्त्वकाङ्क्षाहरू छन्; जागिर पाउने, सीप सिक्ने, व्यवसाय सुरु गर्ने, कोही गज्जब मानिस भेट्ने,” उनले भने।

“परिवार सुरु गर्ने, घर किन्ने, मिहिनेतले काम गर्ने र आफ्ना सन्तानका लागि सक्दो राम्रो गर्ने, सेवानिवृत्त जीवनका लागि वचत गर्ने। यी तिनै स्थिर अस्ट्रेलियालीहरू हुन् जसले आज ठूलो जित हासिल गरे।” बीबीसी नेपालीको सहयोगमा


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार ०९:४६