बुद्ध कहाँ जन्मेका हुन् ?

सङ्गीत श्रोता

यो प्रश्न नेपालभित्र गरियो भने धेरैको जवाफ सीधा हुन्छ– नेपालमा ! यो प्रश्न नेपालबाहिर गरियो भने पनि बुद्धबारे जान्ने–बुझ्नेहरूले सही उत्तरमा ‘नेपाल’ नै भन्नुपर्छ । अचेल कति युवा ‘बुद्ध नेपालमा जन्मेका थिए’ भन्ने गन्जी पहिरेर अभिमानसहित हिँडिरहेका भेटिन्छन् । कति लेखक–साहित्यकार नेपालको परिचय दिनुप-यो भने भन्छन्– यो बुद्धको देश हो !

यथार्थमा बुद्ध र बुद्ध जन्मभूमिबारे नेपाली समाजमा पर्याप्त अवधारणागत भ्रमहरू छन् । ती भ्रमबारे निकै कम मान्छे बोल्छन् । कति बोल्दै–बोल्दैनन् । किनभने बुद्ध नेपालमा जन्मेका थिएनन् कसैले भनोस् मात्रै, ऊ ठाडै ‘अराष्ट्रिय’, ‘देशविरोधी’ ‘राष्ट्रघाती’, ‘भारतीय दलाल’ भइजान्छ । आरोपहरू आउलान्, आलोचनमा परिएला भनेर सत्य नबोल्नु ठीक होइन । र, त्यो सत्य के हो भने बुद्ध जन्मँदै ‘नेपाली’ थिएनन् । न आजभोलि ‘परिशुद्ध नेपाली’ ठानिने दौरासुरुवाल–टोपीधारी गोर्खाली नै उनी हुन् ।

मूल विषयमा प्रवेशार्थ दुई वाक्यबाट छलफल थालौँ– एक, सिद्धार्थ गौतम अर्थात् पछिका बुद्ध नेपालमा जन्मेका होइनन् । दुई, ती बुद्ध ‘नेपाली’ पनि थिएनन् । सिद्धार्थ गौतम जन्मेका थिए लुम्बिनीमा, जुन ठाउँ आधुनिककालमा पत्तो लागेको सवा सय वर्ष मात्रै भयो । अनि नेपाल नामको देश जन्मनुभन्दा २२–२३ सय वर्षअघि नै दार्शनिक गौतम बुद्ध संसारभरिका आफ्ना बनिसकेका थिए, कुनै एक देश, एक राज्य र एक राजखलकबाट मुक्त भइसकेका थिए ।

बुद्धको विलुप्त जन्मथलो : लुम्बिनी

बुद्धको जन्म २५ सय वर्षअघि लुम्बिनीमा भएको विभिन्न ऐतिहासिक अध्ययनहरूको निष्कर्ष छ । तर, बुद्धको जन्ममिति यकिनचाहिँ होइन । कथा–किंवदन्ती, शास्त्र र अभिलेखहरूका आधारमा उनको जन्मवर्ष निधो गरिएको हो । बुद्धको महापरिनिर्वाणको सय/सय वर्षमा श्रीलंकामा हुने गरेको बौद्ध सम्मेलनलाई आधार मानेर उनको जन्म मिति तय गरिएको ‘लुम्बिनीको मौन आह्वान’ पुस्तकका लेखक वसन्त बिडारी बताउँछन् ।

बौद्ध विद्वानहरूले अरू ऐतिहासिक र पुरातात्विक आधारहरू अघि सारेर उनको जन्म २४ सयदेखि २५ सय वर्षअघि भएको पुष्टि गरिसकेका छन् ।बुद्धको जन्मठाउँ लुम्बिनी हो भन्ने संस्कृत र पालि भाषामा लेखिएका प्राचीन ग्रन्थहरूले नै प्रमाणित गर्छन् ।

बौद्ध ग्रन्थहरू मात्रै होइन, फरक–फरक शताब्दीमा भारतीय उपमहाद्वीपमा यात्रामा निस्केका चिनियाँ यात्रीहरूले पनि लुम्बिनीको चर्चा गरेका छन् । तर, त्यो लुम्बिनी शताब्दीयौँसम्म गुमनाम थियो । चिनियाँ यात्रीहरूका वृत्तान्तमा लुम्बिनी मात्रै होइन, कपिलवस्तु, बोधगया, कुशीनगर, सारनाथ र यस क्षेत्रका अरू थुप्रै भू–खण्डबारे पनि उल्लेख छ । सयौँ वर्षको अन्तरालमा लुम्बिनी हरायो, जंगलमा परिणत भयो । १९औँ शताब्दीको उत्तराद्र्धसम्म बुद्धको जन्मस्थल (लुम्बिनी) फेला परेको थिएन ।

जतिवेलासम्म लुम्बिनी कहाँ पर्छ भन्ने टुंगो थिएन, त्यतिवेला नेपाल देशचाहिँ बनिसकेको थियो । लिच्छविकाल, मल्लकालजस्ता ऐतिहासिक चरण गुजारिसकेको नेपालमा अढाई सय वर्षअघि गोर्खा विजयपछिको शाहवंशीय शासन सुरु भइसकेको थियो । सन् १८९६ सम्मका नेपालका कुनै लिखत, दस्ताबेज, अभिलेख, साहित्य आदिमा न बुद्धस्थलको अपनत्व थियो, न बुद्ध जन्मस्थल नेपालमा पर्छ भन्ने गर्वबोध नै । किनभने त्यतिवेलासम्म बौद्ध दर्शन र बौद्ध धर्म संसार प्रसिद्ध भइसके पनि लुम्बिनी, कपिलवस्तु शास्त्रका किताबमा थिए, तर भू–क्षेत्रमा भने कतै विलुप्त भइसकेका थिए (बुद्धको दरबार रहेको कपिलवस्तुबारे अझै पनि विवाद कायमै छ) ।

चिनियाँ यात्रीहरूका वृत्तान्त र प्राचीन बौद्ध साहित्यले लुम्बिनीको स्थानीयता बयान गरेका थिए, छन् । ती ग्रन्थका अनुसार लुम्बिनी पश्चिममा कपिलवस्तु राज्य र पूर्वमा देवदह राज्यका बीचमा पथ्र्यो । कपिलवस्तु शाक्यमुनिहरूको राज्य हो भने देवदह कोलियहरूको राजधानी हो । बुद्ध स्थलहरूको पुनर्खोजी तत्कालीन ब्रिटिस–भारतले थालेको हो । ब्रिटिस भारतको पुरातत्व विभागले राजा अशोकले राखेका स्तम्भहरूको पनि खोजी गर्दै थियो । चिनियाँ यात्रीहरूका वृत्तान्तमा अशोकले ठाउँ–ठाउँमा राखेका ढुंगे खाँमाहरूको चर्चा गरेका थिए । त्यसैका आधारमा लुम्बिनी पनि खोज्न थालिएको थियो ।

बुद्ध यसरी नेपालका भए
डिसेम्बर १, १८९६ (अर्थात् आजभन्दा १२३ वर्षअघि) पाल्पाका बडाहाकिम खड्गशमशेर र ब्रिटिस इन्डिया प्रशासनको अनुमति लिएर जर्मन पुरातत्वविद् डा. एन्टोन फ्युहरर रुम्मिनदेई क्षेत्रमा उत्खनन्मा लागे । काठमाडौंमा रहेको ब्रिटिस दूतावास (?) मार्फत तत्कालीन श्री ३ वीरशमशेरसँग डा. फ्युहररले रुपन्देही क्षेत्रमा उत्खननको अनुमति लिएको विस्तृत कथा चाल्र्स एलेनले आफ्नो पुस्तक ‘द बुद्ध एन्ड डा. फ्युहरर’मा चर्चा गरेका छन् । राणा प्रधानमन्त्री वीरशमशेरले पाल्पामा बडाहाकिम बनाइएका आफ्नै भाइ खड्गशमशेरलाई त्यसको जिम्मा दिएर खबर पठाए । पाल्पा आसपास, बुटवललगायत क्षेत्र खड्गशमशेरकै प्रशासनिक क्षेत्र थियो ।

उत्खननका लागि चाहिने मजदुरको व्यवस्था गर्ने जिम्मा खड्गशमशेरकै थियो । तोकिएको दिनमा हात्तीमा चढेर डा. फ्युहरर आइपुगे । तर, त्यतिन्जेल खड्गशमशेरको टोलीले धमाधम खनिरहेको थियो । (सायद गाडधन भेटिने लोभ पो थियो कि !) र, उत्खननबाट गाडधन होइन, अशोकले राखेको स्तम्भ फेला प-यो । त्यो त्यही स्तम्भ थियो, जसबारे ७औँ शताब्दीमा घुम्न निस्केका चिनियाँ यात्री ह्वेन साङले आफ्नो वृत्तान्तमा बयान गरेका थिए । यो स्तम्भ ३० फुट साढे १० इन्च लामो र १३ फुट ८ इन्च भुइँमा गाडिएको छ । यो राजा अशोकले २३ सय वर्षअघि गाडेका थिए ।

उत्खननमा भेटिएको स्तम्भको सबैभन्दामहत्वपूर्ण पक्ष भनेको ढुंगामा अंकित अभिलेख हो । पालि भाषा र ब्राह्मी लिपिमा लेखिएको त्यस अभिलेख नै बुद्ध जन्मस्थलबारे बताउने अहिलेसम्मको सबैभन्दा प्रामाणिक तथ्य हो । त्यसमा पालि भाषा (अर्धमागधी) मा भनिएको छ–
देवान पियेन पियदसिन लाजिन वीसतिवसाभिसितेन
अतन आगाच महीयिते हिदबुधेजाते सक्यमुनीति
सिलाविगडभीचा कलापित सिलाथभेच उसपापिते
हिदभगवंजातेति लुंमिनिगामे उवलिकेकटे
अठभागियेच
(अर्थात् : देवताहरूका प्रिय प्रियदर्शी (अशोक) राजा राज्यकालको बीसौँ वर्षमा आफैँ आउनुभयो । यहाँ शाक्यमुनि बुद्धको जन्म भएकाले (बुद्ध जन्म) संकेतक शिलामा पूजा गरी यो शिलास्तम्भ स्थापना गर्नुभयो । यहाँ भगवान्को जन्म भएकाले लुम्बिनी गाउँको कर घटाई आठौँ भाग मात्र कायम गर्नुभयो ।)

मौर्यवंशी राजा अशोकले आफ्नो साम्राज्यभित्र यसप्रकारका अनेक ढुंगे–खाँमोहरू गाडेका थिए । त्यसमध्ये माथिको विवरणसहितको अभिलेख भएको खाँमो राणा प्रधानमन्त्री वीरशमशेरका पालामा नेपाली भूक्षेत्रभित्र उत्खननमा भेटियो । यो बौद्ध इतिहासमा निकै ठूलो समाचार थियो । किनभने यही खाँमोले पहिलोपटक बुद्धजन्मस्थल पहिल्याएको थियो ।

उत्खननपछि बडाहाकिम खड्गशमशेर पश्चिमतिर सिकारयात्रामा निस्के भनिन्छ । तर, डा. फ्युहररलाई भने नयाँ खबर दुनियाँलाई सुनाउनु थियो । उनले त्यही वर्ष डिसेम्बर २० मा इलाहावादबाट प्रकाशित हुने ‘पायोनिर’ पत्रिकामा टेलिग्राम पठाए । २३ डिसेम्बरमा ‘पायोनिर’ पत्रिकाले एक्स्क्ल्युसिभ समाचार छाप्यो– ‘डा. फ्युहररले फेला पारे बुद्धको जन्मथलो !’ यस्तै मूल आशय भएका खबरहरू त्यतिवेलाका अरू थुप्रै पत्रिकाले पनि लेखे । लुम्बिनी भेटिएको रिपोर्टिङ लन्डनबाट प्रकाशित हुने विश्वप्रसिद्ध ‘द टाइम्स’ पत्रिकाले २८ डिसेम्बरमा छापेको इतिहासकार एलेनले (पृ. १४१) उल्लेख गरेका छन् ।

नेपाली इतिहासमा यो मिति साँच्चै एउटा मोड थियो । नेपालका तिनताकासम्मका लेखक–साहित्यकारहरू वैदिक एवं पौराणिक कथा, हिन्दू आदर्श र संस्कृत साहित्यका पात्र र विम्बहरू लिएर साहित्य लेख्थे । लुम्बिनी पत्तो लागेपछि नेपालको एउटा सांस्कृतिक विम्बका रूपमा धेरै लेखकले बुद्धलाई लिन थाले ।

भानुभक्त आचार्य र मोतीराम भट्टकालीन नेपाली साहित्यमा कि बुद्धको चर्चै छैन, छ कतै भने पनि उनलाई ‘नेपाली’ वा ‘नेपालको’ मान्ने कुरै भएन । सन् १८९६ पछि भने विश्वकै ध्यान लुम्बिनीतिर आकर्षित हुन थाल्यो । नेपालले पनि बुद्धलाई ‘नेपाली’ बनाउन सक्दो कोसिस जारी राख्यो । सरकारको तहबाट ‘नेपाली विभूति’ बनाइयो भने साहित्यकारहरूले लेख्न थाले– बुद्धले यहीँ पाएथे, ज्ञानको पहिलो मुहान !

अनि बुद्ध ‘नेपाली’ भइसके त ?
हामी आजभोलि यसरी कुरा गर्छौं, मानौँ आज जुन नेपाल भन्ने देश छ, त्यसैले बुद्ध जन्माएको हो । हामी त्यसरी सगर्व छाती फुलाएर बुद्धलाई ‘नेपाली’ भन्छौँ, मानौँ उनी पनि आजका हामीजस्तै ‘नेपाली’ थिए । सरल कुरा छ– बुद्ध जन्मेको २५ सय वर्ष अघि हो । जतिवेला संसारमा नेपाल नामको कुनै मुलुक, समाज, राज्य, टोल केही थिएन (थियो भन्ने प्रमाण फेला परेको छैन) । इतिहास र पुरातत्वका प्रमाणहरूले उनी जन्मेको ठाउँ अहिलेको नेपालभित्र पर्छ । सत्य यत्ति हो ।

अर्कोतिर ‘नेपाली’ पहिचान जुन छ, त्यसमा राष्ट्रवादको समस्याग्रस्त अवधारणा छ । त्यसले नेपालभित्रका अहिलेकै सबै पहिचानलाई त स्विकार्दैन, २५ सय वर्षअघिको शाक्यमुनि त कहाँ–कहाँ ? पहिलेको गोर्खाली राज्यले पछि आफ्नो नाम ‘नेपाल’ स्वीकारेको हो । पर्वते, खस वा गोर्खाली भनिने भाषाको नाम राणाकालमा ‘नेपाली’ बनाइएको हो । त्यसपछि पञ्चायतकालमा मिहिनेतपूर्वक ‘नेपाली’ भन्ने खास परिचय स्थापित गर्न कला, साहित्य, संस्कृति, विद्यालय–विश्वविद्यालय, प्राज्ञिक निकाय परिचालित भए ।

खास धर्म मान्ने, खास भू–क्षेत्रमा बस्ने, खास भाषा बोल्ने र खास संस्कृति अवलम्बन गर्नेहरूलाई मात्रै ‘नेपाली’ मान्ने राष्ट्रवादी अवधारणा बलियो छ । यस्तो अवधारणाले दौरासुरुवाल–टोपीमा नदेखिने व्यक्तिलाई ‘नेपाली’ नै मान्दैन । प्रचलित बुद्धशैलीमा भन्ने हो भने यस्तो समस्याको दुःखदायी कारणहरू छन् । ती कारण निराकरण हुन सम्भव छ । र, ती कारण निराकरणका उपाय छन् । यसरी सोच्ने हो भने बुद्धलाई ‘नेपाली’ भनिरहनु पर्दैन । बुद्ध जन्मेको लुम्बिनीमै हो । लुम्बिनीको प्रवद्र्धन गर्न बुद्धलाई ‘राष्ट्रवादी’ फ्रेमभित्र राखिरहनु पर्दैन ।

झट्ट सुन्दा नमीठो लाग्न सक्छ– तर गौतम बुद्धलाई नेपालको राज्यले ‘नेपालमा जन्मेका’ त भन्छ, तर आफ्नो ठान्नै सकेको छैन । बुद्धको नारा त चर्कै चल्छ, मानौँ नेपालले सोचीविचारी र योजना बनाएरै एकजना महान् दार्शनिक जन्माएको हो । तर, वास्तविकतामा न बुद्धथलो खोजीमा नेपालको अग्रसरता थियो, न अहिले बौद्ध दर्शन र बौद्ध पर्यटन सरकारको प्राथमिकतामा छ ।

लुम्बिनीबारे यात्रावृत्तान्त लेखिदिएका थिए, चिनियाँ यात्रीले । लुम्बिनीको खोजीमा निस्केको थियो, ब्रिटिस भारत । बौद्ध दर्शनको महत्ता प्रवद्र्धन पनि अरूहरूले नै बढी गरिरहेका छन् । नेपालले त चार वर्षअघि संविधान बनाउँदा पनि धर्मनिरपेक्षतासम्म खुलेर स्विकार्न सकेन, बरु सनातन धर्म संरक्षण गर्ने भन्दै ‘हिन्दू परम्परा’ जोगाउन कम्मर कस्यो ।

इतिहास लेखन र इतिहास–मीमांशामा विदेशी विद्वान् भन्नासाथ परचक्री र फिरंगी देखिहाल्ने दृष्टिकोण यतिखेर पनि हाबी नै छ । विदेशीले गरेका सबै काम वा व्याख्या गलत हुन् भन्ने अन्धविश्वास जति खतरनाक छ, त्यत्ति नै डरलाग्दो छ शासकले गरेका सबै व्याख्यालाई इतिहास ठान्ने मान्यता । बौद्ध दर्शन र बौद्ध इतिहासबारे पनि यस्ता खतराहरूबाट बच्न र सम्यक धारणा बनाउनु जरुरी छ । र, भन्न हिच्किचाउनु पर्दैन– उनी लुम्बिनीमा जन्मेका हुन्, अहिले त्यो ठाउँ नेपालमा पर्छ ।

उनीजस्ता महान् दार्शनिकको विचार र शिक्षालाई आजको युगानुकूल आत्मसात् गर्ने र प्रवद्र्धन गर्ने काम नेपालको पनि दायित्व हो । अनि उनी जन्मँदैमा कुनै अलौकिक र मायावी व्यक्ति थिएनन्, रगतमासुकै ज्यान भएका तपाईं–हामीजस्तै साँच्चैका मान्छे थिए । उनी आफ्नो समयका एक प्रख्यात दार्शनिक थिए ।

दार्शनिक कुनै निश्चित भूगोलमा जन्मन्छ, तर निश्चित भूगोलको सीमाको भइरहँदैन । वैज्ञानिकहरू, दार्शनिकहरू, बौद्धिकहरू देशी–भूगोलका सीमामा थुन्न खोजेर पनि थुनिन्नन् । साँघुरो परिभाषाको घेराभित्र कोचिने चिज न दर्शन हो, न विज्ञान । तसर्थ भन्नैपर्छ– महान् दार्शनिकहरूको देश हुँदैन, राज्य हुँदैन, राष्ट्र हुँदैन । प्लेटो–सुकरात होऊन् या माक्र्स–एंगेल्स, सिमोन र सात्र्र होउन् वा रोजा र ग्राम्सी, बौद्धिक र दार्शनिकहरू कुनै देशका राष्ट्रवादी हतियार होइनन् । हुन सक्दैनन् । नयाँ पत्रीका दैनीक


प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार ०८:१७