नेकपाले सवै जनसंगठनको संयोजक–सहसंयोजकको टुंगो लगायो : को-को तोकिए संयोजक–सहसंयोजक ?

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनको भागवण्डा टुंग्याएसँगै संयोजक, सहसंयोजक तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले जनसंगठनको एकता टुंगो लगाएको हो । नेकपाले साबिक एमालेले विद्यार्थी, मजदुर, किसान र अपांगता महासंघ तथा माओवादीले युवा, प्रेस संगठन, जनजाति महासंघ र महिला संगठनको नेतृत्व लिने गरी नेतृत्व टुंगो लगाएको हो ।

बैठकले जनवर्गीय संगठनको नेतृत्व लिएकालाई संयोजक र नेतृत्व नलिएकाका तत्कालीन नेतृत्वलाई सहसंयोजक गर्ने गरि संयोजक र सहसंयोजको टुगो लगाएको हो । बैठकले वुद्धिजीवीको संयोजकमा पूर्वएमालेबाट डा दिनेशचन्द्र देवकोटा र सहसंयोजकमा पूर्वमाओवादीबाट कृष्ण केसी र मजदुरको संयोजकमा पूर्वएमालेबाट विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिंखडालाई चयन गरेको हो । यसैगरी पत्रकारको संयोजकमा पूर्वमाओवादीबाट महेश्वर दाहाल र सहसंयोजकमा पूर्वएमालेबाट गणेश बस्नेतलाई चयन गरेको छ ।

अनेरास्ववियूको संयोजकमा पूर्वएमालेबाट ऐन महर, सहसंयोजकमा पूर्वमाओवादीबाट रञ्जित तामाङ, युवाको संयोजकमा पूर्वमाओवादीबाट रामप्रसाद सापकोटा दीपशीखा र सहसंयोजकमा पूर्वएमालेबाट रमेश पौडेल, महिलाको संयोजकमा पूर्वमाओवादीबाट अमृता थापामगर र सहसंयोजकमा पूर्व एमालेबाट सीता पौडेललाई चयन गरेको छ ।


प्रकाशित | २ जेष्ठ २०७६, बिहीबार १९:०८