अब ‘प्लस–टु’ मा कानुन पढाइ

काठमाण्डौ: नेपाल विद्यापीठ कलेजमा दस जोड दुई (प्लस–टु) उत्तीर्ण गरेका विद्यार्थीले कानुन विषय पढ्न पाउने भएका छन् । २०५८ सालमा प्रवीणता प्रमाणपत्र तह विस्थापनपछि नेपालमा पहिलोपटक काठमाण्डौको बानेश्वरस्थित त्यस कलेजले ‘प्लस–टु’मै कानुन विषय पढाउन थालेको हो ।

कक्षा ११ र १२ मा ५०० पूर्णाङ्कको यो विषयको ‘प्लस–टु’ पास गरेका विद्यार्थीले सिधै स्नातकमा कानुन विषय पढ्न पाउने छन् । काठमाण्डौ महानगरपालिकाबाट विद्यालय सञ्चालनको अनुमति लिई यस वर्षदेखि कानून र व्यवस्थापन कक्षा सञ्चालनको तयारी भएको कलेजका प्रिन्सिपल विनोद तिमल्सिनाले बताउनुभयो । प्लस टू गरेका विद्यार्थीले कानुनमा एलएलबी गर्न पाँच वर्षे कोर्स र स्नातक उत्तीर्ण गरेका विद्यार्थीले तीन वर्षे एलएलबी पढ्न सक्नेछन् ।


प्रकाशित | १ जेष्ठ २०७६, बुधबार १८:०४