गलत रगत चढाएर निधन भएकी बालिकाका आफन्त न्याय माग्दै काठमाडौंमा

काठमाडौंः गलत रगत चढाएर निधन भएकी बालिकाका आफन्तले न्याय माग्दै सर्लाहीबाट काठमाडौं आइपुगेका छन् । यही वैशाख २३ गते सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहको गलत रगत दिएका कारण मृत्यु भएको आरोप लगाउँदै न्यायका लागि काठमाडौं आइपुगेका हुन ।

बालिकाका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरि सरकारले न्याय दिलाउनुपर्ने माग गर्नुभयो । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उहाँले आफूहरु न्यायको लागि विभिन्न ठाउँमा भौतारिँदापनि कतैबाट उचित न्याय नपाएको गुनासो समेत गर्नुभएको छ । शल्यक्रिया गर्नुपुर्व विरामीको दुवै मृगौला ठीक रहेको तर शल्यक्रियापछि दुवै मृगौला फेल भएको रिपोर्ट देखाईएको बताउँदै भन्नुभयो, ‘शल्यक्रिया गरेलगत्तै मृगौला फेल भएको मेडिकल रिपोर्ट छ। हामीलाई यसमा पनि शंका लागेको छ । यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ ।’


प्रकाशित | १ जेष्ठ २०७६, बुधबार १५:५९