४५ दिनपछि खुले चिया उद्योग

मनिषा चम्लागाईँ/ काठमाडौं

पूर्वका ठूला चिया उद्योगीले श्रम ऐनअनुसार नयाँ पारिश्रमिक लागू गर्नेे भएपछि ४५ दिनदेखि बन्द रहेका चिया उद्योग खुल्न थालेका छन् । नेपाल चिया विकास निगमअन्तर्गत झापाको दमक नगरपालिकामा रहेको हिमालय महालक्ष्मी टी गार्डेनले शनिबारदेखि काम सुरु गरेको थियो । यस्तै, टोकला चिया कमान मेचीनगर नगरपालिका, बर्ने चिया कमान बुद्धशान्ति गाउँपालिका र बाह्रदशी चिया कमान बाह्रदशी गाउँपालिका आइतबारदेखि सञ्चालनमा आइसकेका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँगको छलफलमा चिया उद्योगीले श्रम ऐनअनुसार नयाँ पारिश्रमिक लागू गर्न सहमति गरेलगत्तै चिया उद्योग खुलेका हुन् । व्यवसायीले वृद्धि भएको पारिश्रमिक दिने सहमति गरेपछि आन्दोलनका कारण बन्द रहेका उद्योग क्रमशः खुलेका छन् । सोमबारसम्म पारिश्रमिक दिनेबारे आधिकारिक घोषणा नगर्ने उद्योगीहरू पनि नयाँ पारिश्रमिक दिने बारेमा सकारात्मक रहेको मन्त्रालयले जनाएको छ । हालसम्म सहमतिमा आएका चिया उद्योगीले २०७५ साउनबाट नै लागू हुने गरी नयाँ सेवा सुविधासहितको पारिश्रमिक दिने तयारी गरिरहेका छन् ।

हिमालयले श्रम ऐनअनुसार मजदुरलाई दैनिक ज्याला र सेवा सुविधा दिने सहमति निगमसँग गरेको छ । श्रम ऐनमा उल्लेख भएबमोजिम श्रम ऐन र सामाजिक सुरक्षा ऐन पूर्ण रूपमा कार्यान्वयन गर्ने सहमति हिमालयले गरेको छ । श्रम ऐन अनुसार २०७५ साउन १ देखि ऐनमा उल्लेख भएको दैनिक ज्याला उपलब्ध गराउने सहमति भएको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङले बताए ।

श्रम ऐन लागू भएको दिनदेखि नै ३८५ रुपैयाँँ दिनुपर्नेमा ९ महिनासम्म उद्योगले २७८ रुपैयाँँ मात्रै दिँदै आएका थिए । साउनदेखि नै कामदार तथा कर्मचारीले पाउने सबै बाँकी ज्याला किस्ता बन्दीमा भुक्तानी गर्ने सहमति समेत भएको तामाङले बताए । नेपाल चिया बगान श्रमिक संघ, अखिल नेपाल चिया मजदुर संघ र नेपाल कृषि तथा चिया बगान श्रमिक संघसँग चिया कमानको व्यवस्थापन पक्षले लिखित सहमति गरेको हो । सरकारले साउनबाट लागू हुनेगरी चिया उद्योग र बगानमा काम गर्ने मजदुरको पारिश्रमिक निर्धारण गरिएको छ ।

सरकारले साउनबाट लागू हुनेगरी निर्धारण गरेको नयाँ परिश्रमिकअनुसार चिया उद्योगमा काम गर्ने श्रमिकको न्यूनतम परिश्रमिक १३ हजार ४५० र बगानमा कार्यरत मजदुरको १० हजार ७८१ तोकिएको छ । नेपाल राजपत्रमा समेत प्रकाशन गरी चिया उद्योग र बगानमा काम गर्ने मजदुरको पारिश्रमिक निर्धारण गरिएको थियो । साउनबाट लागू भएको नयाँ पारिश्रमिक अनुसार चिया बगान बाहेकका श्रमिक (चिया उद्योग क्षेत्र) का लागि १३ हजार ४५० न्युनतम पारिश्रमिक निर्धारण गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

चिया उद्योगमा निर्धारण गरिएको पारिश्रमिक अनुसार आधारभूत ८ हजार ४५५, महँगी भत्ता ४ हजार ९९५ रुपैयाँ तोकिएको छ । यसैगरी सो क्षेत्रमा दैनिक ज्यादारी गर्ने मजदुरका लागि आधारभुत पारिश्रमिक ३२५ र महँगी भत्ता १९२ रुपैयाँ गरेर ५१७ तोकिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रतिघण्टा काम गर्ने श्रमिकको हकमा आधारभूत पारिश्रमिक ४३ र महँगी भत्ता २६ गरेर ६९ रुपैयाँ तोकिएको थियो ।
चियाविज्ञ एवम् गोरर्खा टि स्टेटका अध्यक्ष उदय चापागाईले सरकारले श्रमिकको मात्र कुरा सुन्ने र उद्योगीका समस्या र गुनासा नसुनेका कारण चिया उद्योग भन्दा पनि कृषक समस्या परेको बताए । सरकारले चिया किसान र उद्योगीका समस्या हल नगरेसम्म पारिश्रमिक लागू गरे पनि उद्योग धरासायी हुने उनले बताए । कारोबार दैनीक


प्रकाशित | ३१ बैशाख २०७६, मंगलवार ०८:४८