स्वास्थ्य मन्त्री बस्नेतद्वारा दादुरा–रुबेला खोप राष्ट्रिय अभियानको भक्तपुरबाट शुभारम्भ

भक्तपुर:  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको मध्यपुर थिमिस्थित आदर्श माध्यमिक विद्यालयबाट दादुरा–रुबेला राष्ट्रिय खोप अभियानको आईतबार शुभारम्भ गर्नु भएको छ । मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरकी अस्मिता ओझालाई भ्याक्सिन क्स हस्तान्तरण गर्दै शुभारम्भ गर्नु भएको हो ।

आदर्श माध्यमिक विद्यालयमा आयोजना गरिएको शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले नेपाल सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्न प्रतिवद्व रहेको बताउदै प्रदेश सरकार र स्थानिय सरकारको सहकार्यमा यो अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

गत वर्ष समेत दादुराको महामारी देखिएको स्मरण गर्दै देशका ७७ वटै जिल्लामा सञ्चालित हुने खोप अभियानमा एक जना बालबालिका पनि छुट्न नहुनेमा स्वास्थ्य मन्त्री बस्नेतले जोड दिनुभयो । यो अभियान सफल बनाउन जनचेतनाको पनि भूमिका रहेकाले स्वास्थ्य मन्त्रालयले यसको शुभारम्भ भक्तपुरको आदर्श स्कुलबाट गरेको मन्त्री बस्नेतले बताउनुभयो ।

कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर २ का सांसद दुर्लभ थापाले स्थानिय सरकारको सहकार्यमा सञ्चालन गरिएको खोप अभियानले पूर्ण सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री र मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले स्थानिय सरकारले प्राथमिकताका साथ खोप लगायतका स्वास्थ्यका कार्यक्रम सञ्चालनमा सहकार्य गरिरहेको जानकारी गराउनुभयो ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवले देशका ७७ वटै जिल्लाबाट एकै पटक शुभारम्भ गरिएको दादुरा–रुबेला खोप राष्ट्रिय अभियानले नेपालबाट दादुरा र रुबेला निवारणमा कोशे ढुंगा सावित हुने बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्ररमण सिंहले संसारबाटै विफर उन्मुलन भएजस्तै दादुरा र रुवेला पनि उन्मुलन गर्न सकिने दावी गर्दै यसमा सबैको इमान्दार प्रयास आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्रले यस अभियानमा तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिना देखि १५ वर्ष मुनीका र बाँकी जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनीका बालबालिकालाई यो खोप दिइने जानकारी दिनुभयो । परिवार कल्याण महासाखाका निर्देशक डा. विवेक कुमार लालले साडे ५७ लाख बालबालिकालाई यो अभियान अन्तर्गत खोप लगाइने बताउनुभयो ।

डा. लालका अनुसार देश भरि स्थापना गरिएका ४९ हजार खोप केन्द्रमार्फत ६० हजार महिला स्वास्थ्य स्वयं सेविका र ४४ हजार स्वास्थ्यकर्मी मार्फत खोप अभियान सञ्चालन हुने छ । यो अभियान सञ्चालमा १ अर्ब ३६ करोड खर्च लाग्ने छ । जसमध्ये ८४ प्रतिसत रकम ९ग्लोवल भ्याक्सिनेशन अलाइन्स० गाभीले अनुदान दिएको छ भने बाँकी नेपाल सरकारले बेहोर्ने छ ।


प्रकाशित | १३ फाल्गुन २०८०, आईतवार १६:१५