पर्यटकको पुर्नबहालीमा नगरकोट सडक महोत्सवले जगायो आशा, निकट भविष्यमानै पूर्वाधारको विकास गरिसक्ने जनप्रतिनिधिहरुको उद्घोष, स्थानीय तथा पर्यटन व्यवसायी उत्साहित

नगरकोट :  ‘प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटको उन्नति‘ भन्ने मूल नाराका साथ पर्यटकीय नगरी नगरकोटमा तीन दिने सडक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ ।

नगरकोट भ्रमण वर्ष २०८२ को पूर्व तयारी स्वरुप आयोजना गरिएको महोत्सवको चाँगुनारायणका मेयर जीवन खत्री र मण्डल देउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवाले भ्रमण वर्ष २०८२ को लोगो सार्वजनीक गर्दै संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

नगरकोटमा पर्यटन प्रवद्र्धन तथा सो क्षेत्रको समृद्धिको लागि आफु निर्वाचित भइसकेपश्चातको पहिलो नगर सभाले नगरकोट भ्रमण बर्ष २०८२ मनाउने निर्णय गरेको मेयर खत्रीले बताउनु भयो ।

महोत्सव अपेक्षा गरे भन्दा उत्साहजनक रुपमा सम्पन्न भएको छ । पछिल्लो समय नगरकोटमा कोरोना महामारी तथा कमलबिनायक नगरकोट सडकका कारण आन्तरिक तथा बाह्य पर्यटकको संख्या घट्दो रहेको थियो । सो बारे सरोकारवालाहरु चिन्तित रहेको अवस्थामा महोत्सवले पर्यटन प्रवद्र्धनमा ठूलो मद्धत गरेको छ ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजना र चाँगुनारायण, मण्डल देउपुर, बनेपा र शंकरापुर नगरपालिकाको विशेष सहयोगमा भएको महोत्सवमा तीन दर्जनभन्दा बढी स्टल राखिएको थियो ।

कार्यक्रममा मण्डल देउपुर नगरपालिकाका नगर प्रमुख बाइवाले नगरको विकासमा लागि गर्नुपर्ने जस्तोसुकै कदम चाल्न तयार रहेको बताउनुभयो ।

सांगितिक एवम् स्थानीय कला र प्रतिभा प्रस्तुतिका साथै लोक दोहोरी कार्यक्रम, स्थानीय खानाका परिकारहरु, कृषि मेला, चंगा चेट, मुहार चित्रकारितालगायतका विभिन्न सामग्रीहरुले महोत्सवलाई थप आकर्षक बनाएको थियो ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले पर्यटकीय क्षेत्र नगरकोटलाई अझ ब्यवस्थित बनाउनका लागि महोत्सव आयोजना गरिएकोमा महोत्सवले ठूलो आसा जगाएको बताउनुभयो ।

तीन दिन सम्म नै महोत्सवमा पर्यटकहरु निकै उत्साहका साथ रमाएका थिए भने स्थानीय बासीन्दाहरु महोत्सवका कारण निकै लाभान्वित बनेका छन् । तथापी यो सुरुवात भएको चाँगुनारायणका मेयर खत्रीले बताउनु भयो ।

निकट भविष्यमा नै भौतिक पूर्वाधार लगायतका संरचना निर्माण तथा पर्यटकहरुको लागि सहज सडक व्यवस्था गर्न लागिपरेको मेयर खत्रीले बताउनु भयो । नगरकोटको समृद्धिको लागि प्रतिबद्ध रहेको उहाँको भनाई छ । महोत्सवको समापन समेत मेयर खत्रीले गर्नु भएको थियो । पर्यटकहरुको पुर्नबहाली गर्ने काम निरन्तर हुने भन्दै मेयर खत्रीले नगरकोट भ्रमण वर्ष २०८२ का लागि जुट्न सरोकार सबैलाई आब्हान समेत गर्नु भयो ।

उता सडक महोत्सवले स्थानीय तथा होटल व्यवसायीहरु उत्सहित बनेका छन् ।

हेर्नुहोस नगरकोट सडक महोत्सवका तस्विरहरु

 

  


प्रकाशित | २५ कार्तिक २०८०, शनिबार २२:१८