एनआरएनए एसिया प्याशिफिक क्षेत्रले आपत्तकालीन कोष स्थापना गर्ने

काठमाडौं: गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक क्षेत्रीय समितिले आपत् विपत् सहयोग कोषको स्थापना गर्ने भएको छ। एसिया प्यासिफिक क्षेत्रको शनिबार एनसिसीका अध्यक्षसहित बसेको बैठकले आगामी दुईवर्षे कार्यकालको मुख्य योजना अन्तर्गत कोष स्थापना गर्ने निर्णय गरेको हो।

छिटो र छरितो रूपमा पीडितहरुलाई राहतको महशुस हुने गरी सहयोग प्रदान गर्नको लागि कोषको अपरिहार्यता देखिएकोले एसिया प्यासिफिक क्षेत्रीय समितिको मुख्य कार्ययोजनाका रूपमा राखेर एनसीसीहरुको सहयोग समन्वय र सहकार्यमा कोषको स्थापना गरिने क्षेत्रीय संयोजक हरि भट्टराईले बताएका छन्।

बैठकले शुक्रबार पश्चिम नेपालको जाजरकोटलाई केन्द्रविन्दु बनाई आएको भूकम्पमा परि ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थयलाभको कामना समेत गरेको छ।

भूकम्प पीडित नागरिकहरुको सहयोगका लागि एनसीसी र आईसीसीसंगको समन्वयमा राहात संकलन कार्यलागि तिव्रता दिई एकद्वार प्रणालीबाट वास्तविक भूकम्प पीडित समक्ष राहत पुर्याउन भूमिका निर्वाह गर्ने निर्णय समेत बैठकले गरेको उप संयोजक दिपक कँडेलले जानकारी दिनुभयो ।

उनका अनुसार सरोकारवाला निकायसंग मिलेर राहत संकलन र वितरण गरिनु आवश्यक बताउँदै एसिया प्यासिफिक क्षेत्रका एनसीसीसँगको समन्वयमा राहात संकलन अभियान सञ्चालन गरि संकलित राहात गरी वितरण गर्दा स्थानिय सरकारसँगको समन्वय र सहकार्यमा वास्तविक पीडितहरुलाई उपलव्ध निश्चित हुने गरी गर्न आवश्यक कार्य गरिनेछ।

शनिबारको बैठकमा एनसीसी अध्यक्षहरुको धारणा लिइएकको र सोही अनुरूप आगामी दुई वर्षे कार्ययोजना तयार गरिने बताइएको छ। एसिया प्यासिफिक क्षेत्रको कमिटीमा एनसीसीका अध्यक्ष पदेन सदस्य रहने गरि गठन गरिने पनि बताइएको छ।

बैठकमा आइसिसी उपाध्यक्ष रोबिन शेरचन, महिला संयोजक अनिता गुरुङ, क्षेत्रीय युवा उप संयोजक नारायण खड्का, एनसीसी जापानका अध्यक्ष नविन निउरे, एनसीसी हङ्कङका अध्यक्ष गोकर्ण ढकाल, एनसीसी थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, एनसीसी चिनका अध्यक्ष निर्मल चौलागाई लगायतको उपस्थिति रहेको थियो।

बैठक क्षेत्रीय संयोजक हरि भट्टराईको अध्यक्षतामा सम्पन्न् कार्यक्रम उपसंयोजक दिपक कँडेलको सञ्चालन गर्नु भएको छ ।


प्रकाशित | १९ कार्तिक २०८०, आईतवार ०९:३८