विभाजीत एनआरएनए र नजिकिदो चुनाव : के महेश श्रेष्ठ बन्लान् सबैको आशाको केन्द्र ?

काठमाडौं : विदेशमा बस्ने नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) यतिबेला विभाजित छ । आफ्नो अभिभावक संस्था नै विभाजन र छिन्न भिन्न भइसकेपश्चात यतिबेला विदेशमा बस्ने नेपालीरुमा वितृष्णा पलाएको छ । एनआरएनएको विभाजन र विदेशमा बस्ने नेपालीहरुमा वितृष्णा पलाएकै अवस्थामा नै चुनाव नजिकिएको छ । विदेशमा बस्ने नेपालीहरुले विभाजित एनआरएनएलाई एउटै मालामा उन्न सक्ने नेतृत्व चुन्नु नै चुनौती छ ।

एनआरएनएको चुनाव यहि अक्टोबर १७ देखी २० तारिखसम्म हुँदैछ । चुनावमा अध्यक्षका आकांक्षी मध्ये महेश श्रेष्ठलाई धेरैले साझा उम्मेदवारका रुपमा परिभाषित गरेका छन् । यूरोप भ्रमण सकाएर काठमाण्डौ आएर अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएका श्रेष्ठलाई सोही कार्यक्रममा अधिकांशले विभाजित एनआरएनएलाई एक बनाउन सक्ने एक मात्र उम्मेदवारको रुपमा समर्थन गरेका थिए । त्यसपश्चात श्रेष्ठ एनआरएनए अभियानमा यूरोप, मध्यपूर्वका बहराइन, दुवई, साउदी, कुवेत हुँदै एनआरएनए एनसीसी मलेसिया संग भेटघाट तथा छलफल सकेर कम्बोडिया हुँदै दक्षिण कोरिया पुग्नु भयो र पुनः नेपाल फर्कनु भयो । काममा इमान्दार, दायित्व पूरा गर्न सक्ने क्षमता र शालीन छवी बनाउनु भएका श्रेष्ठलाई जहाँ पुगे पनि समर्थन नै जुटेको छ ।

सबैको समर्थन पाएर अझै उत्साहित हुनु भएका श्रेष्ठले नेपाल र नेपालीहरुको हितमा अझै सशत्त भएर लाग्ने प्रतिक्रिया दिनु भएको छ । एनआरएनएको अध्यक्षको उम्मेदवार बन्नुको कारणबारे बोल्दै श्रेष्ठले भन्नु भयो, “कमी कमजोरी सबैका हुन्छन, हाम्रा पनि भए र अर्का पक्षका पनि भए होलान । तर यथार्थ भनेको हाम्रा अग्रज देखि ठुलो संख्यामा साथीहरु संघको अभियानबाट बाहिर र अन्यत्र हुनुहुन्छ । यो हाम्रो लागि दुःखको कुरा हो । परिवार बाहिर पठाएर घर खुकुलो हुन्छ भन्ने मान्नु भनेको विभाजन ल्याउनु हो । हाम्रो संघको अभियानमा पनि त्यस्तै भयो । अलिकति लचकता अपनाएको भए, अलिकति सम्मान सहित हिम्मत देखाएको भए आज हामी सबै एउटै ठाउँमा हुने थियौं, तर त्यसो भएन । म अध्यक्षमा प्रत्यासी हुनुको एउटा मुख कारण यो पनि हो ।”

एनआरएनए १० औं महाधिवेशनबाट विभाजित छ । एनआरएनए विभाजन भएसंगै विभिन्न महत्वपूर्ण मुद्धाहरु ओझेलमा परेका छन् । अर्को तर्फ नेपालमा लगानीको वातावरण बनाउन तथा नेपालीको हितमा हुने कामहरु पनि अलमलिएका छन् । यसर्थ यसको समाधानका लागि श्रेष्ठ भन्नुहुन्छ, “संघको बिभाजनलाई एकिकृत गर्ने स्पष्ट योजना मसँग छ । त्यसैले आफूले नेतृत्व लिएको पहिलो दिनमा सन्देश र ७ दिनमा योजना प्रस्तुत, ३० दिनमा पहिलो नतिजा र ९० दिनमा टुंगो लगाउनेछु । अरुको सम्मान, संघमा सबैको अस्थित्व र समावेसी हुँदा नै हामी बलिया र सक्रिय हुन्छौं भन्नेमा मलाई र मेरो साथमा रहनुहुने सबैलाई विश्वास लाग्दछ ।”

गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएको श्रेष्ठ आइसिसी कोषाध्यक्षमा लोकप्रिय मतका साथ विजयी हुनु भएको थियो । कोषाध्यक्ष हुँदा संस्थालाई आर्थिक पारदर्शीता कायम गर्नेदेखि आर्थिक अवस्था सुधार गर्न उहाँ सफल हुनु भएको थियो । हाल एनआरएनए उपाध्यक्ष रहनु भएको श्रेष्ठ गैर आवासीय नेपाली समुदायमाझ इमानदार र स्वच्छ छवीको रुपमा चिनीनुहुन्छ ।

एनआरएन्एलाई एकताबद्ध बनाउदैं विदेशमा बस्ने नेपालीहरु र मातृभूमी नेपालका लागि निरन्तर सशक्त रुपमा काम गर्ने उहाँले प्रतिबद्धता जनाउनु भएको छ । संथालाई थप परिस्कृत, प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता ब्यक्त पनि उहाँको छ । आफू निर्वाचीत भएपछि गैर आवासीय नेपालीको गरीमा उच्च बनाउने गरि संस्थालाई नयाँ ढाँचामा अगाडि बढाउने श्रेष्ठको भनाई छ ।

कोरियाबाट महेश र विनोदले गरे सामूहिक सम्बोधन, तीन महिनाभित्र एनआरएनएलाई एकताबद्ध गराउने प्रतिबद्धता


प्रकाशित | २२ आश्विन २०८०, सोमबार १८:२६