काठमाडौंमा उम्मेदवारी घोषणा लगत्तै एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ जापानमा, विमानस्थलमा भब्य स्वागत

टोकियो: गैर आवासीय नेपाली संघ (एनअराएनए) का अध्यक्षका उम्मेदवार महेश कुमार श्रेष्ठले गैर आवासीय नेपालीहरुको साथ र समर्थन बढ्दै गएकाले चुनाव जित्नेमा ढुक्क रहेको बताउनु भएको छ ।

अध्यक्षका उममेदवार श्रेष्ठले गैर आवासीय नेपालीलाई एकताबद्ध र एकढिक्का बनाउन आफ्नो भूमीका महत्वपूर्ण भूमिका रहेको भन्दै विश्वभरिबाट साथ र सहयोग तथा समर्थन गर्नेहरु बढ्दै गएको बताउनुभयो ।

प्रजातान्त्रिक समूहका साझा उम्मेदवार श्रेष्ठले विश्वभरिबाट विभिन्न माध्यमबाट बधाई तथा समर्थन जनाउनेहरुले आफूलाई थप उत्साहित बनाएको बताउनुभयो ।

गैर आवासीय नेपाली संघमा सबैलाई मिलाउन सक्ने ब्यक्ती नेतृत्वमा आओस भन्ने चाहाना गैर आवासीय नेपालीको मात्र नभई नेपाल सरकार र राजनीतिक दलका नेतादेखि सबैको रहेको भन्दै एनआरएनए आशाको केन्द्र बनेको बताउनुभयो ।

‘नेपालको आर्थिक सम्मृद्धिमा योगदान गर्न सक्ने गैर आवासीय नेपाली नै हुन । त्यसैले दुई वर्षे कार्यकालमा काम गरेर देखाउन र भरोसालाई विश्वासमा परिणत गर्नुपर्नेछ । त्यो म गरेर देखाउनेछु’, श्रेष्ठले भन्नुभयो ।

जित्ने बित्तिकै तीन महिनाभित्र एनआरएनएले के गर्न सक्छ र सम्भावना के के छन् भनेर दस्तावेज नै तयार पार्ने र राज्यसँग समन्वयन गरेर अगाडि बढ्ने समेत उहाँले बताउनुभयो ।

काठमाडौंमा शुक्रबार अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणापश्चात श्रेष्ठ सोमबार जापान फर्किनु भएको छ । सो क्रममा श्रेष्ठलाई जापानका नेपालीहरुले बिमानस्थलमा भब्य स्वागत गरेका छन् ।

विमानस्थलामा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै श्रेष्ठले केहि दिन जापानका विभिन्न शहरमा रहेका गैर आवासीय नेपालीहरुसँग भेटघाट तथा छलफलपछि एसिया, मध्यपूर्व र यूरोपको भ्रमणमा निस्किने तयारी भइरहेको बताउनुभयो ।

श्रेष्ठले एसिया प्याशिफिकका कोरिया, मलेसिया, थाईल्याण्डलगायतका विभिन्न देशको भ्रमण सकाएर मध्यपूर्व र यूरोपको भ्रमण गर्ने तयारी गर्नु भएको हो ।


प्रकाशित | १ आश्विन २०८०, सोमबार २०:०३