एनआरएनए उपाध्यक्षमा सुनील साहको उम्मेदवारी घोषणा

काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा कोषाध्यक्ष सुनील साहले उपाध्यक्षमा उम्मेदवारी घोषण गर्नु भएको छ । साहले आगामी कार्याकालको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

संघको निर्वाचन अक्टोवरमा हुँदैछ । साहले वर्तमान कार्यसमितिमा कोषाध्यक्ष रहँदा संस्थामा आर्थिक पारदर्शीता कायम गर्न सफल हुनुभएको छ भने मासिक रुपमा आर्थिक प्रतिवेदन सार्वजनीक गर्ने परिपाटीलाई निरन्तरता दिनुभयो ।

साहले विगतदेखि नै विश्वभरका विभिन्न देशका एनसिसीमा पुगेर त्यहाँको समस्या, अवस्था बुझ्ने प्रयास गर्दै आउनु भएको छ । उहाँले एसिया प्याशिफिक, युरोप, मध्यपूर्वका अधिकांश देशमा रहेका गैर आवासीय नेपालीहरुसँग भेटघाट गरि एनसिसीलाई कसरी बलियो बनाउन सकिन्छ भनेर राय सुझाव समेत संकलन गरिसक्नु भएको छ ।

विश्वभरिका गैर आवासीय नेपाली समुदायको सल्लाह सुझाव अनुसार उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको साहले बताउनुभयो ।

एनआरएनए अमेरिकाको पूर्व अध्यक्ष समेत रहनु भएको साहको नेतृत्वमा कोभिड-१९ महामारीमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो । साहकै नेतृत्वमा मधेश प्रदेशमा मोबाइल ब्लड बैक बस परियोजना अगाडि बढिरहेको छ ।


प्रकाशित | १९ भाद्र २०८०, मंगलवार १०:४५