लम्पी स्किनबाट चाँगुनारायणका ८० प्रतिशत गाई सङ्क्रमित, तत्काल राहत दिन मेयर खत्रीको कृषि मन्त्री श्रेष्ठसँग माग

भक्तपुर: चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले लम्पी स्किन पीडित किसानलाई तत्काल राहत दिन माग गर्नु भएको छ । प्रमुख खत्रीले बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठसहित बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रीसँग भेट गर्दै लम्पी स्किन पीडित किसानलाई राहत दिन माग गर्नु भएको हो ।

भेटमा मन्त्री डा. राजेन्द्रमान श्रेष्ठलाई लम्पी स्किनबाट चाँगुनारायण क्षेत्रका ८० प्रतिशत गाई सङ्क्रमित भएको समग्र भक्तपुरमा ७५ प्रतिशत भन्दा बढी गाई सङ्क्रमित भएको भन्दै राहत दिन आग्रह गर्नु भएको हो । साना किसानको रोजी रोटीको रूपमा रहेको गाई पालन पेसा नै धरापमा परेको भन्दै उनीहरूलाई राहत प्याकेज ल्याउनु पर्ने उहाँहरुको माग छ ।

एउटा गाई खरिद गर्न एक लाख भन्दा बढी पर्छ साना किसानले दुई चार पालेका गाई बाछा भटाभट लम्पी स्किन सङ्क्रमणबाट मर्न थालेपछि साना किसानको उठीबास नै लाग्ने अवस्था रहेको भन्दै मन्त्रीको ध्यानर्कषण समेत गराइएको थियो ।

भूगोलको हिसाबले भक्तपुर जिल्लाको ५७ प्रतिशत हिस्सा ओगटेको चाँगुनारायण नगरपालिकाका ८० प्रतिशत गाईमा लम्पी स्किन सङ्क्रमण फैलिएको चाँगुनारायण नगर प्रमुख जीवन खत्रीले बताउनुभयो ।

उहाँले हाल सम्म चाँगुनारायणमा मात्र हजार भन्दा बढी गाईको मृत्यु भई सकेको जानकारी दिनुभएको छ । टोल टोलमा गाई व्यवस्थापन गर्न समस्या नै आई सकेको बताउँदै उहाँले गाई फाम सञ्चालन गर्नेहरूको अझ ठुलो बिजोग भएको मेयर खत्रीले बताउनुभयो ।

आफ्नो नगरमा ६० प्रतिशत भन्दा बढी किसानले गाई पालन गर्दै आएको बताउँदै उनीहरूको सपना लम्पी स्किनले सखाप बनाएको मेयर खत्रीले बताउनुभयो ।

नगरपालिकाले रोग नियन्त्रणका लागि प्रचार प्रसार देखि खोप कार्यक्रमका लागि नगरबाट १० लाख रकम विनियोजन गरी रोग नियन्त्रण तथा खोप कार्यक्रम गर्दै आएको समेत प्रमुख खत्रीले जानकारी दिनुभयो ।

खोप जनचेतना दिँदा दिँदै पनि यो रोगका कारण नगरका अधिकांश किसान पेसाबाट नै विस्थापित हुने अवस्थामा पुगेका कारण उनीहरूलाई राहत स्वरूप प्रदेश सरकारले केही प्याकेजका रूपमा प्रदान गर्नु पर्ने उहाँको पनि माग रहेको थियो ।

बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री डा राजेन्द्रमान श्रेष्ठले रोगको विषयमा आफूलाई जानकारी भएको तर यस्तो भयावह अवस्थामा भक्तपुर पुगेको विषयमा आफ्नो ध्यानाकर्षण भएको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले राहत स्वरूप के गर्न सक्छ आफूले क्याबिनेटमा राखेर राहत प्याकेज ल्याउन लागी पर्ने समेत जानकारी दिनुभयो ।


प्रकाशित | ३१ असार २०८०, आईतवार ११:२५