सूर्यविनायकको ‘एक वडा, एक खेलमैदान’ नीति, रंगशाला र खेल मैदान निर्माण गर्न ४ करोड बजेट विनियोजन

भक्तपुर: सूर्यविनायक नगरपालिकाले शिक्षा, स्वास्थ्यपछि खेलकुद क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएको छ । एक वडा एक खेलमैदान, एक टोल एक व्यायमशाला तथा योग साधना केन्द्र निर्माणको थालनी भइसकेकोमा उक्त कामलाई यस वर्ष पनि निरन्तरता दिने भएको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा नगरपालिका अन्तर्गत वडा नं. ९ स्थित नंखेलमा रंगशाला निर्माण र वडा नं ७ मा नगर स्तरीय खेल मैदान निर्माणको लागि ४ करोड बजेट विनियोजन गरेको छ । समुदायस्तरदेखि नै खेल र खेलसंस्कृतिको विकास र प्रवद्र्धन गर्न सूर्यविनायक कप, नगरप्रमुख कप लगायत विभिन्न किसिमका नगरस्तरीय खेलकूद प्रतियोगिता सञ्चालन गर्ने नीति पनि नगरपालिकाले लिएको छ । ।

नगर प्रमुख बासुदेव थापाले युवाहरुलाई विभिन्न खेलकुदमा आकर्षण गर्न नगरक्षेत्रभित्र बसोबास गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विशेष योगदान पु¥याउने खेलाडी तथा खेल क्षेत्रका व्यक्तिलाई सम्मान र पुरस्कृत गर्ने, युवा क्लव तथा वडा स्तरीय बाल क्लवहरुलाई व्यवस्थित रुपमा संचालन गर्ने, युवाहरुको क्षमता विकासको लागि नमुना नगरसभा कार्यक्रमलाई निरन्तरता दिनेलगायतका विषय नीति तथा कार्यक्रममा समेट्नु भएको छ ।


प्रकाशित | २० असार २०८०, बुधबार २१:५५