चाँगुनारायण नगरपालिकाले सार्वजनीक गर्‍यो १ अर्ब ७१ करोड ६ लाखको बजेट

भक्तपुर: चाँगुनारायण नगरपालिकाको १३ औं नगर अधिवेशन शूरु भएको छ । अधिवेशनको पहिलो दिन नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनीक गरिएको छ । नगर प्रमुख जीवन खत्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनीक गर्नुभयो ।

नगर प्रमुख खत्रीले भौतीक पूर्वाधार, सडक पूर्वाधार तथा यातायात, खानेपानी तथा सरसफाई, विद्युत तथा वैकिल्पिक ऊर्जा, भवन तथा बस्ती विकास, कृषि तथा पशुपंक्षी विकास, सहकारी, गरिबी न्यूनीकरण तथा उद्यमशीलताको विकास, उद्योग वाणिज्य तथा बजार ब्यवस्थापन, शिक्षा, युवा तथा खेलकूद, स्वास्थ्य, लैगिक समानता तथा सामाजिक समावेशिकरण, सामुदायिक एवं गैरसकारी संघ संस्था परिचालन, सामाजिक सुरक्षा एवं पञ्जीकरण, श्रम र क्षमिक, वन, वातावरण, फोहोरमैला ब्यवस्थापन, पूर्ण सरसफाई तथा विपद् ब्यवस्थापन, सुसाशन, संस्थागत क्षमता विकास तथा सार्वजनीक सेवा प्रवाह, वित्तिय ब्यवस्थापन र सूचना तथा सञ्चारलगायत शीर्षकमा १९० बुँदालाई समेट्नु भएको छ । नगर प्रमुख खत्रीले सार्वजनीक गर्नु भएको नीति तथा कार्यक्रममाथि छलफल गरि शुक्रबारै नगरसभाले सर्वसम्मत रुपमा पारित समेत गरेको छ ।

त्यस्तै, नगरसभाका उपाध्यक्ष रमेश बुढाथोकीले आगामी आर्थिक वर्ष २०८० ०८१ को बजेट प्रस्तुत गर्नुभयो । नगरसभासमक्ष प्रस्तुत बजेट अनुसार आगामी आर्थिक वर्षको लागि १ अर्ब ७१ करोड ६ लाख १ हजार वरावरको बजेट विनियोजन गरिएको हो ।

चालु खर्च तर्फ ८१ करोेड ७३ लाख ५६ हजार र पुँजीगत खर्च तर्फ ८९ करोड ३२ लाख ४५ हजार बजेट छुट्याइएको छ ।

सार्वजनीक बजेट अनुसार नगरस्तरीय गौरवको आयोजनाका लागि ४ करोड, युवाहरुका लागि लक्षित गरि खेलकुद पूर्वाधार विकास गर्न ५ करोड, स्थानीय सरकारलाई नजिकको सरकारको रुपमा नगारिकको आभास दिलाउन विपन्न सहयोग कार्यक्रम अन्तर्गत २० लाख, आ-आफ्नै वडा कार्यालय भवनबाट सेवा प्रवाह गर्न १, ३, ५, ७ र ९ नम्बर वडा कार्यालयहरुका लागि आन्तरिक तथा भौतीक पूर्वाधार ब्यवस्थापन गर्न २ करोड २० लाख रकम विनियोजना गरिएको छ ।

उता बेरोजगार युवाहरुलाई लक्षित गरि सञ्चालनमा ल्याइएको मेयर उद्यमशीलता विकास कार्यक्रमलाई निरन्तरता दिन १ करोड बजेट ल्याइएको छ भने जसबाट थप यूवाहरु उद्यम विकासमा प्रोत्साहन एवं समावेश गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तैगरि, नागरिकहरुमा स्वास्थ्य सेवा प्रभावकारी गर्न विपन्न तथा ज्येष्ठ नागरिकहरुका परिवारका लागि निशुल्क स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिदैँ १ रकोड रकम विनियोजन गरिएको छ । चाँगुनारायण नगरपालिकामा रहेको अक्सिजन प्लान्ट मार्फत अक्सिजन उत्पादन गरी चाँगुनारयण बासीहरुलाई निशुल्क वितरणको लागि २० लाख, नगरबासीहरुको खानेपानीको आवश्यकतालाई सम्बोधन गर्न ६ करोड ५३ लाख, यातायात पूर्वाधारलाई उच्च प्राथमिकतामा राखी ५० करोड ४५ लाख, विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर लगायत नगर क्षेत्रभित्रका मठमन्दिर एवं सम्पदा संरक्षणका लागि ६ करोड १७ लाख ५० हजार विनियोजन गरिएको छ ।

नगरभित्रका बालबालीकाहरुको शिक्षामा गुणस्तरीयता कायम गर्दै बालिका तथा किशोरीहरुको विविध आयाममा सकारात्मक परिवर्तनका साथ सुरक्षीत भविष्यको सुनिश्चितताका लागि कार्यान्वयनमा ल्याइएको बचत खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रमलाई निरन्तरता दिर्दै ३५ लाख छुट्याइएको छ ।

आर्थिक विकास तथा मानव जीवनको अपरिहार्य क्षेत्र कृषिमा आधारित रोजगार प्रबद्र्धन गरी कृषि पेशालाई सम्मानजनक बनाउन तथा आधुनिकीकरण एवं ब्यवसायीकीकरणका लागि ९२ लाख ५० हजार, पुश विकासका लागि पशु स्वास्थ्य आहार, नश्ल सुधार, सामुदायिक सेवा कार्यक्रम, फर्म तथा ब्यवसाय सुदृढीकरण लगायत कार्यक्रमका लागि ९७ लाख, प्राकृतिक तथा मानवीय कारणले हुनसक्ने विपद्जन्य क्षतीलाई न्यूनीकरण गर्दै सम्भावीत स्थानहरुमा बाँध निर्माण, आगलागी, बाढी, पहिरोलगायत आकस्मिक रुपमा आइपर्ने जोखिम न्यूनीकरण र ब्यवस्थापनका लागि विपद् ब्यवस्थापन कोषमा ३ करोड विनियोजन गरिएको छ ।

त्यस्तै, नगसभाले विभिन्न ऐन कानुन समेत पारित गरेको छ । बजेट अधिवेशनको छलफलको लागि अर्को बैठक आइतबार दिउँसो २ बजे डाँकिएको छ । कार्यक्रममा नगरसभाका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, वडाध्यक्षहरु, नगर सभास सदस्यहरु, शाखा प्रमुखहरु र सञ्चारकर्मीको सहभागिता थियो ।


प्रकाशित | ८ असार २०८०, शुक्रबार २०:५४