नौ महिनामै १० खर्ब व्यापारघाटा: आर्थिक वर्षको अन्त्यसम्म १४ खर्ब ३० अर्ब घाटा हुने अनुमान

काठमाडौं : सरकारले बढ्दो आयातलाई नियन्त्रण गर्न गरेका सबै प्रयास असफल भएका छन् । पछिल्लो ९ महिनाको तथ्यांक हेर्दा आयात बढेर उच्च बिन्दुमा पुगेको छ भने निर्यात स्थिर छ । आयातदर बढ्दै गएपनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापारघाटा दिनप्रतिदिन बढ्दै गएको हो । चालू आर्थिक वर्षको ९ महिनामा व्यापारघाटा ९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापारघाटा चुलिएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार नौ महिनामा १० खर्ब ६१ अर्बको आयात भएकोमा निर्यात भने ७० अर्बमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको तुलना गर्दा २२ प्रतिशतले व्यापारघाटा बढेको भन्सार विभागले जनाएको छ । अहिलेकै दरमा व्यापार घाटा वृद्धि भए यो आर्थिक वर्षको अन्त्यसम्म १४ खर्ब ३० अर्ब व्यापार घाटा हुने अनुमान गरिएको छ । यो वर्ष व्यापार घाटा बजेटकै हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।

सरकारले विलासी वस्तु तथा गुणस्तरहीन वस्तुको आयात निरुत्साहित गर्ने भने पनि आयातमा आधारित राजस्व नीतिका कारण कडाइ गर्न सकेको छैन । पूर्वसचिव पुरुषोतम ओझा बढ्दो व्यापारघाटा कम गर्नका लागि स्वदेशी वस्तुको उत्पादन बढाएर निर्यात बढाउनुपर्ने बताउँछन् । स्वदेशी वस्तुको लागत महँगो हुँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नै कठिन भएको उनको भनाइ छ । यो समाचार आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेख्नुभएको छ

सवारीसाधनमा २ सय २९ प्रतिशत हाराहारीमा कर र बैंकले दिने ऋणमा पनि मूल्यको ६० प्रतिशतमात्र ऋण दिन पाइने व्यवस्थाले पनि सवारीसाधन आयात निरुत्साहित गरेको छैन । जसको कारणले गर्दा पनि व्यापारघाटा बढ्दै गएको देखिन्छ ।

आयात निर्यातको अनुपातको विश्लेषण गर्दा नेपालले १ रुपैयाँ मूल्यको वस्तु निकासी गर्दा १५ रुपैयाँ २० पैसा बराबरको वस्तु आयात गरिरहेको हुन्छ । यस अवधिमा सवै भन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । नौ महिनामा पेट्रोलियम आयातमा मुलुकबाट १ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यस्तै, १ खर्ब ८ अर्बको फलाम र स्टिल, ९० अर्ब जतिको मेसिनरी, ७० अर्बको सवारीसाधन र ६६ अर्बको विद्युतीय सामग्री आयात भएको तथ्यांक छ ।

यस अवधिमा मुलुकबाट निकासी भएका प्रमुख वस्तुमा पोलिस्टर तथा अन्य धागो, फलाम तथा स्टिल, ऊनी गलैंचा, तयारी पोसाक, जुट तथा जुटका सामान, जुस, चिया, कपडा, अलैंची, पस्मिना सल छन् ।  निर्यातको पहिलो सूचीमा पाम आयाल छ । यस अवधिमा ७ अर्ब ३४ करोड रुपैयाँको पामको तेल निर्यात भएको छ । ७ अर्ब २४ करोडको धागो, ५ अर्ब ७६ करोडको गलैंचा, ५ अर्ब ६८ करोडको चिया तथा कफी र ५ अर्ब जतिको फलाम र स्टिलका सामग्री निर्यात भएको छ ।

छिमेकी मुलुक भारतमा आयातको हिस्सा कुल आयातमा ६४ र दोस्रो छिमेकी मुलुक चीनमा १४.५ प्रतिशत छ भने कुल निकासीमध्ये भारत र अमेरिकाको हिस्सा क्रमशः ६३.४ र ११.४ प्रतिशत छ । मुलुकको वैदेशिक व्यापार साझेदार मुलुकमा भारत, अमेरिका, जर्मनी, टर्की, युके, चीन, बंगलादेश, फ्रान्स, इटाली, जापान, क्यानडा, अस्ट्रेलिया, डेनमार्कलगायत रहेका छन् ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १३:५३