नीति, नियम र ऐनमा टेकेर काम गरेमा हरेक निर्णयहरु सर्वसम्मत गर्न सकिन्छ : मेयर बासुदेव थापा

भक्तपुर । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले नीति, नियम र ऐनमा टेकेर काम गरेमा कुनै अवरोधले नछेक्ने बताउनु भएको छ । सूर्यविनायक नगरपालिका र युवाका साथ साथ आवाज नेपालको संयुक्त आयोजनामा भएको नमूना नगर सभा कार्यक्रमको समापन तथा युवाहरुलाई नगरपालिका सञ्चालन सम्बन्धी जानकारी गराउनुहुँदै मेयर थापाले सो कुरा बताउनु भएको हो ।

मेयर थापाले कुनै जात, क्षेत्र, पार्टीप्रति विभेद नगरेमा हरेक निर्णय सर्वसम्मत हुने र कुनै विवाद सिर्जना नहुने स्पष्ट पार्नुभयो । उहाँले विकास निर्माणमा ऐक्यबद्धता राजनीतिमा प्रतिस्पर्धा भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै नगरपालिका अगाडि बढेको उल्लेख गर्नुभयो ।

मेयर थापाले आफूले विगत ६ वर्षदेखि मेयरको रुपमा नेतृत्व गर्दै आएकोमा अहिलेसम्मका १३ औं नगर सभा र १४२ वटा कार्यपालिका बैठकहरु सर्वसम्मत पारित भएको बताउनुभयो ।

आफू निर्वाचनबाट जितेर आएपछि पार्टीको आस्थाभन्दा माथि उठेर नगरबासीको हितमा काम गर्नुपर्छ भन्ने भावनाले अगाडि बढेकै कारण हरेक निर्णयहरु सर्वसम्मत भएको स्पष्ट पार्नुभयो ।

विकास गर्दा राजनीतिक दल, समाजसेवी सबैलाई राखेर वडाहरुबाट जति छलफल गरेर आउँछ ती सबै बजेट जस्ताको तस्तै पारित गर्ने गरेको र पारदर्शी रुपमा काम गर्ने गरेको मेयर थापाले बताउनुभयो । उहाँले पारदर्शीताका लागि नगरपालिकाले गर्ने हरेक निर्णयहरु वेभसाइटमा राख्ने गरेको पनि बताउनुभयो ।

आफू निर्वाचनमा होमिदा बीस वर्षमा चुनाव भएको र तीन वटा कोठामा जगातीबाट नगरपालिका संचालन गरेको स्मरण गर्नुहुँदै मेयर थापाले नगरपालिकालाई यो अवस्थामा ल्याइपुर्याउँन ठूलो सघर्ष र मिहेनत गर्नुपरेको बताउनुभयो ।

युवाहरुका राम्रा सुझावहरु सधै सुन्न तयार रहेको र बेलाबेलामा आएर सल्लाह दिन पनि आग्रह गर्नुभयो । नगरबासीले तिरेको करबाट नगरपालिका सञ्चालन हुने गरेको जानकारी गराउनुहुँदै आगामी दिनमा आफ्नो बल बुत्ताले म्याएसम्म नगरबासीको हितमा काम गर्ने बताउनुभयो ।

मेयर थापाले नमूना नगर सभाको प्रशंसा गर्दै आफूले गर्ने नगरसभा र नमूनामा केहि फरक नपाएको र सिक्ने अवसर पाएको बताउनुभयो । युवाहरुलाई हौसल्ला प्रदान गर्नुहुँदै आगामी हरेक वर्ष नमूना नगर सभा कार्यक्रम सञ्चालनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

युवाहरुले नेताहरुलाई मात्र गाली गर्न भन्दा युवाहरुलाई राजनीतिमा पनि आस्था बढाउन र नेतृत्वका लागि अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले पढेलेखेका युवाहरु जागिर खाने र विदेश जाने, नपढेका राजनीतिमा आउँदा देश नबन्ने भन्दै युवाहरुलाई राजनीतिमा आउँन आग्रह गर्नुभयो ।


प्रकाशित | १ चैत्र २०७९, बुधबार १४:०६