राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी आज दर्ता हुँदै

काठमाडौं -फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनको समय निर्धारण गरिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्यक्रमअनुसार मनोनयनपत्र दर्ता भएपछि उम्मेदवारको सूची आज नै ४ बजेसम्म सार्वजनिक हुनेछ ।

राष्ट्रपतिको उम्मेदवार बन्न पाँच/पाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ ।

संसद् भवन बानेश्वरमा मतदानस्थल तोकिएको छ भने उम्मेदवारी दर्ता पनि संसद्कै ल्होत्से भवनमा हुँदै छ । निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको विरोधमा आइतबारसम्म उजुरी दिन सकिनेछ । उजुरी परेमा सोमबार जाँचबुझ गरी त्यही दिन नाम सार्वजनिक हुनेछ । उम्मेदवारको अन्तिम नामावली मंगलबार प्रकाशन हुनेछ ।

२५ गते हुने निर्वाचनमा निर्वाचित हुन उम्मेदवारले बहुमत ल्याउनुपर्ने हुन्छ । बहुमत ल्याउन नसकेमा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच फेरि मतदान हुनेछ । त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ । मतदानबाट समेत कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुनेछ ।

राष्ट्रपति निर्वाचनको मतदाताको संख्या सङ्घीय संसद्को तीन सय ३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको पाँच सय ५० गरी कूल ८ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । सङ्घीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति मात्र राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन् । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।


प्रकाशित | १३ फाल्गुन २०७९, शनिबार ०८:२७