तेस्रो मुलुकसँग व्यापारका लागि चिनियाँ बन्दरगाह : नेपालको ६ वटा नाका प्रयोग गरी व्यापार गर्न सकिने

लक्ष्मी सापकोटा /काठमाडौं

स्वदेशी वस्तुको निर्यात बढाउन चीनको समुद्री बन्दरगाहबाट नेपालको ६ वटा नाका प्रयोग गरी व्यापार गर्न सकिने भएको छ । यसअघि भारतसँग मात्र समुद्री बन्दरगाह प्रयोग गरी व्यापार गर्ने व्यवस्था भएकोमा अब अर्काे छिमेकी मुलुक चीनसँग पनि समुद्री बन्दरगाहमार्फत व्यापार सहजीकरण गर्न सकिने भएको हो ।

नेपाल–चीन यातायात तथा पारवहन प्रोटोकलसम्बन्धी हालै भएको सम्झौतासँगै नेपाललई चीनसँग व्यापार गर्नका लागि ६ वटा नाकामार्फत व्यापार गर्न बाटो खुला भएको हो । प्रोटोकल सम्झौतासँगै चीनको भूमि हुँदै जापान, कोरिया लगायतका तेस्रो मुलुकबाट वस्तु आयात–निर्यात गर्न सहज गर्न पारवहन मार्ग खुला भएको हो ।

नेपालले चीनका सबै खुला सामुद्रिक बन्दरगाह प्रयोग गर्न सक्ने र हाललाई तियान्जेन, सेनजेन, लियानयुयाङ गरी चारवटा सामुद्रिक बन्दरगाह प्रयोग गर्नसकिने सम्झौता भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । लान्जाओ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह प्रयोग गर्न पाइने भएको छ । अन्य बन्दरगाह क्रमशः प्रयोग गर्नसकिने छ । पारवहनका लागि ६ वटा नाकामार्फत पारवहन ढुवानी गर्नसक्ने प्रावधान रहेको छ । यसमा अन्तर्राष्ट्रिय नाकाको रूपमा रसुवा, कोदारी र याङ्ग्री रहेका छन् । यस्तै, दुईपक्षीय नाकाको रूपमा रहेको किमाथाङ्का, नेचुङ र ओलाङचुङ्गोला आवश्यक तयारीपश्चात अन्तर्राष्ट्रिय नाकाको रूपमा सञ्चालन गर्ने सम्झौता भएको मन्त्रालयले जानकारी दिएको छ ।

व्यापारको लागि अहिले भारतर्फका कोलकाता तथा हल्दिया बन्दरगाह प्रयोग भइरहेको र धाम्रा र मुन्द्रा बन्दरगाहको लागि पहल भइरहेको मन्त्रालयको भनाइ छ । अब नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म पारवहन ढुवानीका लागि आउन जान सक्नेछन् ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले चीनसँग व्यापार प्रोटोकल सम्झौता गरेसँग व्यापारलाई बढाउन सहजीकरण हुने बताए । “नेपाल–चीन यातायात तथा पारवहन प्रोटोकल सम्झौता भएसँगै अब चीन हँुदै अन्य तेस्रो मुलुकमा सामानको आयात–निर्यात गर्न सहज हुनेछ,” उनले भने, “चीन हुँदै अन्य मुलुकमा सामान निर्यात गरेर नेपालको व्यापार बढाउन सकिन्छ ।”

सामान ढुवानी गर्दा लाग्ने समय, लागत, कार्गाे कसरी ल्याउन सकिन्छ भनेर अध्ययनका लागि मन्त्रालयलबाट केही दिनमा अध्ययन गर्न टोली जान लागेको उनले जानकारी दिए । नेपाल चीन पारवहन ढुवानी सम्झौता सन् २०१६ मा टुंगो लगाएकोमा अहिले आएर कार्यान्वयनमा आएको हो । चीनसँग व्यापार गर्नका लागि समुद्री बन्दरगाह खुला भए पनि नेपालको तर्फबाट अझै पूर्वाधार विकास हुनसकेको छैन । भूकम्पपछि बन्द रहेको तातोपानी नाका अझै खुल्न सकेको छैन । जसको कारणले गर्दा चीनसँग हुने व्यायार बढ्न सकेको छैन । हालै, राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा नेपाल– चीन यातायात तथा पारवहन प्रोटोकल सम्झौता भएको हो ।

चीनबाट मुलुकमा आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न सकेको छैन । मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७४-०७५ मा चीनमा निर्यात २ अर्ब ४३ करोड ९१ लाख ५१ हजारको निर्यात भएकोमा १ खर्ब ५९ अर्ब ८९ करोड ३ लाख १६ हजार रुपैयाँको आयात भएको छ । यस्तै आव ०७३-७४मा १ अर्ब ८० करोड ९८ लाख ३४ हजारको निर्यात भएकोमा १ खर्ब ३० अर्ब २४ करोड १४ लाख ४१ हजार रुपैयाँको आयात भएको तथ्यांक छ । यस्तै, आव ०७२-७३ मा २ अर्ब १५ करोड ६७ लाख ५८ हजारको निर्यात भएकोमा १ खर्ब १७ अर्ब २० करोड ९९ लाख ८२ हजार रुपैयाँको आयात भएको छ । कारोबार दैनिक


प्रकाशित | २५ बैशाख २०७६, बुधबार १३:४३