चुनावमा हारजीत स्वभाविक हो, दोलखाली जनताको मायालाई भने कहिल्यै बिर्सने छैन: बालकृष्ण शिवाकोटी

दोलखा: नेकपा एमालेको तर्फबाट दोलखाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटीले दोलखाली जनताको मायलाई कहिल्यै बिर्स नसक्ने बताउनुभएको छ । चुनावमा जीत हार स्वभाविक भएपनि आफू कत्ति पनि बिचलित नहुने र दोलखाली जनताको मायालाई कहिल्यै बिर्सन नसक्ने बताउनुभयो ।

शिवाकोटीले आफ्नो हारलाई लिएर जिल्लाका कुनै पनि नेता कार्यकर्ताले राजीनामा दिन नपर्ने बताउनुभयो । ‘मेरो कारणले कसैले राजीनामा दिनु पर्दैन, कसैलाई असर पर्नुहुँदैन’, उहाँले भन्नुभयो, ‘म उम्मेदवार हुँ, हारेको मैले हुँ, मेरो जिम्मेवारी के हो र कति जिम्मेवारी निर्वाह गरेँ भन्ने विषयमा आफै समिक्षा गर्नुहोला ।’

एमाले बागमति प्रदेश कमिटीका सदस्यसमेत रहनुभएका नेता शिवाकोटीले दोलखाली जनताको मायासामू आफ्नो पराजय निकै सानो बिषय रहेको पनि बताउनुभयो ।

‘जननेता मदन भण्डारीले भन्नुभएको थियो–जनताले यदि मत दिएर बिजय गराए भने चियरमा बसेर काम गर्नु, मत दिएर बिजय गराएनन भने भुईमा बसेर फेरि काम गर्नुपर्छ । म यही मान्यताअनुसार अघि बढेको मानिस हो,’ शिवाकोटीले भन्नुभयो, ‘आफू सदैव दोलखालीको मायाप्रति आभारी रहीरहनेछ ।’

‘जनताको मनमा बस्ने सौभाग्य पाएका छौं । दोलखाली जनताको मायालाई म कहिल्यै बिर्सन सक्दिन । आमा बुवा, दाजुभाई दिदीबहिनीको जुन माया पाएको छु, मैले जीवनमा पाएको सवैभन्दा ठूलो कुरा यही हो । यो मायामा कँही तलमाथि नहोस भन्नेमा विशेष सर्तक छु, मलाई सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद तथा आभारी छु’, शिवाकोटीले भन्नुभयो ।


प्रकाशित | १९ मंसिर २०७९, सोमबार १६:००