इंग्ल्यान्डलाई टि२० विश्वकप उपाधि

एजेन्सी – इंग्ल्यान्डले १२ वर्षपछि आइसिसी टि२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै टि२० विश्वकपको उपाधि दोस्रो पटक जितेको हो ।

इंग्ल्यान्डले सन् २०१० को टि२० विश्वकप फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो । इंग्ल्यान्ड २०१६ को टि२० विश्वकप फाइनलमा वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो ।

उक्त खेलमा अन्तिम ६ बलमा वेस्टइन्डिजलाई १९ रन चाहिँदा कार्लोस व्रेथवेटले लगातार चार छक्का हान्दै जिताएका थिए ।इंग्ल्यान्डले २०१९ मा न्युजिल्यान्डलाई सुपर ओभर टाइ भएपछि बाउन्ड्री बढी प्रहारको आधारमा उपाधि जितेको थियो । सन् १९९२ को फाइनलमा भने पाकिस्तानसँग इंग्ल्यान्ड २२ रनले पराजित भएको थियो ।

इंग्ल्यान्डले सेमिफाइनलमा भारतलाई १० विकेटले तथा पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

इंग्ल्यान्ड र पाकिस्तानबीच फाइनलमा सन् १९९२ को एकदिवसीय विश्वकपपछि पहिलो पटक प्रतिस्पर्धा गरेका थिए । इंग्ल्यान्ड च्याम्पियन्स ट्रफी २००४ को फाइनलमा वेस्टइन्डिजसँग दुई विकेट र २०१३ मा भारतसँग पाँच रनले पराजित भएको थियो ।


प्रकाशित | २७ कार्तिक २०७९, आईतवार १८:२४