कांग्रेस नेता कार्यकर्तालाई बालकृष्णको आग्रह: मतदान गर्ने ठाउँ छैन भनेर नअल्मलीनुहोला, म दोलखाकै साझा उम्मेदवार हुँ

दोलखा । नेकपा एमालेका तर्फबाट दोलखामा प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीले आफू जिल्लाबासीको साझा उम्मेदवार भएकाले निर्धक्क भएर एमालेको पक्षमा मतदान गर्न आग्रह गर्नु भएको छ । ओराङमा आयोजित चुनावीलाई सम्बोधन गर्नुहुँदै उम्मेदवार शिवाकोटीले आफू एमालेको मात्र नभई साझा उम्मेदवार भएकाले सोही अनुसार मत दिन आग्रह गर्नु भएको हो ।

‘यो पटक कांग्रेसका नेता कार्यकर्ताहरुले मतदान गर्ने ठाउँ छैन भनेर नअल्मलीनु होला, तपाईकै साझा उम्मेदवार म बालकृष्ण शिवाकोटी सूर्य चिन्ह्र लिएर उम्मेदवार बनेको छु’, उहाँले भन्नुभयो, ‘समाजवादीका साथीहरु पनि अलमलीनु भएको होला, हिजो जे जे भयो भयो , यो पटक एमालेका उम्मेदवारलाई मत दिनूस ।’

उहाँले निर्वाचनको बेलामा धेरै कुरा गरेर कसैले नपत्याउँने र आफू आश्वाशन बाँड्ने भन्दा पनि विजयी भएपछि काम गरेर देखाउने उम्मेदवार भएको स्पष्ट पार्नुभयो ।

‘प्रत्येक घरमा एमालेका उम्मेदवारहरु पुग्न सम्भव नभएपनि म बालकृष्ण शिवाकोटी तपाईको घरमा आए पनि नआए पनि एकचोटी अवसर दिनूस’, उहाँले भन्नुभयो, ‘हाम्रो पक्षमा मतदान गर्नुहोस, गर्नुपर्ने के के काम छन् स्थानीय र जनप्रतिनिधिसँग बसेर हामी त्यो काम गर्नेछौ ।’

एमालेले विकास र समृद्धीका लागि नयाँ अनुहारलाई अगाडि सारेको र युवा पुस्ताको प्रतिनिधित्व आफूले गरेकाले निर्धक्क भएर मत दिन उहाँको अपिल छ ।


प्रकाशित | २७ कार्तिक २०७९, आईतवार १७:१२