एनआरएनए बैठक स्थगन विवाद: अध्यक्ष थापाद्धारा महासचिव जोशीलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) बैठकको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । आइतबार आयोजना गरिएको एनआरएनएको बैठक महासचिव गौरीराज जोशीले स्थगन गरेको भन्दै कार्यकारी अध्यक्ष रविना थापाले जोशीलाई २४ घन्टे स्पष्टीकरण सोधेसँगै एनआरएनएभित्र विवाद उत्पन्न भएको हो ।

अध्यक्ष थापाले आइतबार बोलाइएको आइसीसीको बैठक महासचिव जोशीले एक्लौटी ढंगले विधी विधानलाई नाघेर अन्तिम समयमा स्थगन गरेपछि २४ घन्टे स्पष्टीकरण सोधीएको बताउनु भयो । अध्यक्ष थापाले स्पष्टीकरण नदिए कारवाहीको प्रक्रिया अगाडि बढाइने गरि आफूले पत्र काटेको बताउनु भयो ।

केहि ब्यक्तीको उक्साहटमा महासचिव जोशीले बैठक स्थगन गरेको उहाँको भनाई छ । अध्यक्ष थापाले बैठकबाट भागेर निकास ननिस्कने भन्दै महासचिव जोशीको नियत ठिक नभएको बताउनु भयो ।

महासचिव जोशीले हरेक निर्णयमा भाँजो हाल्ने काम गर्दैै आएको, बैठकमा कुरा राख्न नसक्ने र बाहिरबाट अमूक ब्यक्तीमार्फत संस्थालाई बद्नाम गराउने कार्य गरेको विगतको गतिविधिलाई समेत ध्यानमा राखी बाध्य भएर स्पष्टीकरण सोधीएको अध्यक्ष थापाको भनाई छ ।

उता महासचिव जोशीले बैठक संचालनको लागि तीन जना अध्यक्ष, दुई जना महासचिव गरि पाँच जनाको सहमति चाहिने निश्चित कार्यविधी भएकोमा कार्यकारी अध्यक्ष थापाले कार्यविधी लत्याएको कारण बैठक स्थगन गरिएको बताउनु भयो । चार जनाले असहमती राख्दा राख्दै निश्चित एजेन्डा राख्न आफूलाई दबाब दिएर बैठक राख्न खोजेकाले आफूले नमानेको जोशीले बताउनु भयो ।

अध्यक्षको पत्रको कुनै औचीत्य नरहेको र पत्र काट्ने अधिकार अध्यक्षलाई नरहेको महासचिव जोशीको भनाई छ ।

त्यस्तै, कार्यकारी अध्यक्ष थापाले संघका कार्यकारी निर्देशक रवि किरण अधिकारीलाई पनि कारवाहीको चेतावनी दिदै पत्र पठाउनु भएको छ । पत्रमा निर्देशनविना कार्य नगरेमा र अटेर गरेमा कारवाहीको चेतावनी दिइएको छ ।


प्रकाशित | २१ कार्तिक २०७९, सोमबार १६:५४