काठमाडौं -काठमाडौं क्षेत्र नम्बर २ मा ओनसरि घर्ती र मणिराम फुयाललाई चुनौति दिँदै कोषराज सुवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
झापाको गौरादहमा २०३६ साल फागुन १५ गते बुवा चन्द्रकान्त सुवेदी र आमा इन्द्र कुमारी सुवेदीको कोखबाट जन्मिएका सुवेदी सामान्य किसान परिवारका सदस्य हुन् । अर्थशास्त्रमा ब्याचलर सुवेदीले आफूले अध्ययन गरेकै क्षेत्रमा दुई दशक लामो समय बिताइ सकेका छन् ।
युनियन लाइफ इन्स्योरेन्समा मार्केटिङ चिफका रुपमा रहि अर्थ र बित्तको क्षेत्रमा अनुभव हासिल गरेका सुवेदीले नेपाल लाइफ इन्स्योरेन्समा कर्पोरेट मार्केटिङ चिफका रुपमा सेवा गर्दा अर्थ र राजनीतिको सम्बन्धलाई नजिकबाट नियालेका छन् ।
हाल ‘मेरो बिमा’ मार्फत आम नागरिकको सेवा र देशको अर्थतन्त्रमा टेवा पुर्याउने उध्यम गरिरहेका सुवेदीले अर्थको नीतिगत रुपमा न्यायोचित उपयोग, बितरण र परिचालन हुन सकेन भने देशमा दिगो विकास हुन सक्दैन र नागरिकको जीवनस्तरमा तात्विक परिवर्तन आउन सक्दैन भन्ने महसुस गरी राजनीतिक यात्रा शुरु गरेको बताएका छन् ।
उनले जनताको आवाज सदनसम्म पुर्याउ र नीतिगत परिवर्तन गरी ब्यवस्थित प्रणाली बसाउने अठोटका साथ मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेद्बारी घोषणा गरि चुनावी गतिविधिलाई तिव्र पारेका छन् ।
लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रेका सुवेदीको प्रतिस्पर्धा गठबन्धनका उमेदवार र एमालेका उमेदवार सँग हुँदैछ । यो क्षेत्र मा गठबन्धनका उमेदवार ओनसरी घर्ती र एमालेका मणिराम फुयाल सहित अन्य २० जना भन्दा धेरै उम्मेदवार मैदानमा छन् । सुवेदी यी सबैलाई पछि पार्दै जित निकाल्नेमा आशावादी छन् ।
चुनावी गतिविधिका क्रममा सुवेदीले मतदाताले आफुलाइ बिश्वास गरेको पाएको र त्यो बिश्वास आफुले कायम राख्ने बताएका छन् । उनले अरूभन्दा फरक ढंगले चुनावी प्रचार प्रसार गरिरहेका छन् । उनी घर घरमा निमन्त्रणामा पत्र लिएर मतदानको निम्तो गरिरहेका छन् । उनले आफ्नो प्रतिबद्धता पत्रमा उनी डिजिटल नेपाल बनाउने लक्ष्य लिएर अघि बढेका छन् ।
‘अर्थतन्त्रभित्र देखिएका धमिराहरुको अन्त्य गर्नु छ, सदनमा सधैं जनताका आवाज उठाउँछु’ उनले भने, ‘मेरा धेरै योजना छन्, ती मध्ये मुख्यत: सोचसँग समृद्धि, समुन्नत लोकतन्त्र, दीगो पूर्वाधार, आर्थिक पारदर्शिता , गुरूकुल र गुगल फ्यूजन सहितको शिक्षा, निशुल्क स्वास्थ बीमा सेवा लगायतका एजेण्डा बनाएका छन् ।
‘मसँग छुट्टै भिजन छ जसले देश बनाउँछ र जनतालाई न्याया दिन्छ त्यसैले पनि म जनप्रतिनिधि हुनुपर्छ’ उनले भने, ‘ दलहरुले हिजोको जस्तो गाना गाएर हुँदैन, अहिलेसम्म उनीहरुले देशलाई कुन अवस्थामा पुर्याए भन्ने जनताले राम्रो बुझेका छन् त्यसैले म नै सबैको साझा उम्मेदवार हुँ ।
प्रकाशित | २९ आश्विन २०७९, शनिबार २०:०४