मेरो इमानदारीतामा आँच आउन दिनेछैन: बासुदेव थापा (पूर्णपाठसहित)

बासुदेव थापा, नगर प्रमुख, सूर्यविनायक नगरपालिका

उपत्यकामा नै पिछडिएको ठाउँ र त्यहीमाथि म साधारण किसानको छोरो, दोस्रो पटक पनि नगर प्रमुखको रुपमा यहाँहरुको माया र विश्वासको कारण निर्वाचीत भएको छु । तपाईले आज मलाई गलाभरि भारि माला लगाइदिनु भएको छ । मैले त्यसलाई ठूलो बोझको रुपमा लिएको छु । त्यो माला तथा सम्मानलाई मैले पाँच वर्षमा तीर्नुपर्नेछ । मैले घोषणापत्रमा भने र लेखे अनुसारको काम गर्नुपर्नेछ । मलाई अमूल्य मत दिएर विजयी हासिल गराइदिनु भयो र अबको पाँच वर्ष नगरपालिकाको भाग्य भविष्य कतातीर लाने भन्ने जिम्मेवारी हाम्रो हातमा सुम्पिदिनु भएको छ ।

नगरपालिकालाई कसरी कस्तो बनाउने भन्ने जिम्मेवारी हाम्रो हातमा आएको छ । नगरपालिकामा म लगायत ५४ जनाको निर्वाचीत टिम छ, त्यसमा १८ जना कांग्रेस र ३६ जना एमालेबाट निर्वाचीत भएका छौ । हामीले नगरपालिकामा थुप्रै काम गर्नुपर्नेछ । हामी जुनसुकै पार्टीबाट निर्वाचीत भए पनि अब हाम्रो दायित्व भनेको नगरपालिको भाग्य र भविष्य तथा नगरपालिकालाई उत्कृष्ठ नगर कसरी बनाउने ? बस्नलायक स्वच्छ, हराभरा कसरी बनाउने ? शिक्षा, स्वास्थ्य र खानेपानीको ब्यवस्थापन कसरी गर्ने र हाम्रो रितीरिवाजले मानी आएको धर्म संस्कृतिलाई कसरी बचाउने ? भन्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्नेछ ।

अब हामी कुनै पार्टीको ब्यक्ती मात्र हुँदैनौ । सूर्यविनायक नगरबासीलाई मैले नगर प्रमुखको जिम्मेवारीमा निर्वाचीत भएपछि निष्पक्ष, कानुनको परिधिमा रहेर इमानदारीपूर्वक काम गर्छु भनेर प्रतिज्ञा गरेको छु ।

मैले चुनावमा टिकट ल्याउन पनि ठुलो चुनौती झेल्नु पर्यो । टिकट ल्याएर पनि विजयी हुनुपर्ने र नगरबासीले अनुमोदन गर्नुपर्ने थियो । त्योमाथि नगरपालिकामा ७ पार्टीको गठबन्धन भयो । उपत्यकामा दोहोरिने मेयरमा कमै मात्रामा छन् । पहिलो कुरा, टिकट पाउँनैै गाह्रो । त्यहीमाथि जित्न गाह्रो । अझ हामी हिडेको ठाउँ पुरै तारेभिर, खसेपछि हाठघोर केहि नरहने, अर्कातीर धेरै गहिरो समुद्र, मैले बीचबाट ढुंगा हाक्नुपर्ने थियो । त्यो ढुंगा यहाँहरुको साथ सहयोग र माया तथा नगरबासीलाई सम्झीएर हाँके र सफल पनि भए ।

अब मैले घोषणापत्र र प्रतिबद्धतापत्रमा भने अनुसार नगरपालिकालाई नमुना, समृद्ध र सुखी नगरबासी बनाउने भनेको छु । भन्नलाई धेरै सजिलो छ, काम गर्नलाई धेरै गाह्रो छ । यहाँ दिदी बहिनी आमाहरु हुनुहुन्छ, भान्से बस्न कति गाह्रो छ भन्ने कुरा यहाँहरुलाई राम्ररी थाहा छ । अहिले त भान्से बस्न सजिलै छ । चामल जति भए पनि बोरामा छन । नपुगे थप्न पाइन्छ ।

पहिलाको कुरा सम्झनुस त मिठो मसिनो महिनौ सम्म पुर्याएको दिन कति गाह्रो छ ? तपाईले आफ्नो परिवारलाई पुर्याएर खाने दिन सम्झनुस त कति गाह्रो छ ? हो, यहाँहरुको पनि मप्रति धेरै चाहना र ठूलो आंकाक्षा हुन सक्छ । मलाई पनि तपाईहरुको इच्छा आंकाक्षा पुरा गर्न धेरै ठुलो चुनौतीहरु छन् । त्यो चुनौतीलाई पार गरेर मैले पहिलो नगरपालिकाको मेयरमा हुँदा १ सय २२ वटा बैठक र १० वटा नगरसभा सर्वसम्मत, राजनीतिक दल, बुद्धिजीवी र पत्रकार सबैको सहयोगले म सफल मेयरको रुपमा स्थापीत भएको महसुस गरेको छु ।

दोस्रो कार्यकालमा पनि त्यस्तै इच्छा र आंकाक्षा तथा अझ अधुरा योजना पुरा गर्नका लागि नगरबासीले मलाई विश्वासका साथ मत दिनु भएको छ । त्यो मतलाई आँच नआउने गरि गुण लगाउनुपर्नेछ । मैले पाँच वर्षमा त्यो गुण तीर्न सकिन भने ऋणी हुनेछु । त्यसैले यही जुनीमा ऋण चुक्ता गर्नका लागि ब्यक्तीगत स्वार्थ नहेरि, रात दिन नभनि म त्यो पुरा गर्न लाग्नेछु । कति गर्न सकि कति गर्न सकिन भने कुरा त्यो समयले बताउनेछ । हुन त धर्मशास्त्रमा भनीए अनुसार सत्य युगमा धर्तीको माता सीतालाई पनि धोभीले बात लगाएको थियो । मलाई पनि विभिन्न झमेला र बात लगाउने कुरा आउन सक्छन् । तर त्यो प्रमाणीत हुन दिनेछैन । म इमानदारीपुर्वक यो मन्दिरलाई साँची राखेर नगरबासीको शीर ठाडो हुने गरि काम गर्न प्रयत्न गर्नेछु । मैले तपाईहरुको साथ सहयोगको आसा गरेको छु । यदी तपाईहरुको साथ सहयोग र माया भएन भने मैले काम गर्न सक्दिन । तपाईहरुको माया र साथ सहयोग नै मेरो लागि सबैभन्दा ठुलो शक्ती हुनेछ । कौवाले कान लग्यो भन्दैमा कानै नछामी कुद्ने प्रवृत्ति नहोस । मलाई पनि विभिन्न लांछना लगाउने काम हुन सक्छन् । विभिन्न टिकटम हुन सक्छ । तर खाएको विष लाग्छ, नखाएको विष लाग्दैन । म कुनै पनि ठाउँमा चुकेर गल्ती काम मैले गर्नेवाला छैन । मलाई पाँच वर्षको पनि अनुभव छ । म इमानदारीपुर्वक लाग्नेछु । मलाई एक टुक्रो खान, लगाउन पुर्खाले खाई नखाई जोडेको माटो छ । त्यो माटोमा रमाइरहेको छु । म कुनै गल्ती नगरी इमानदारीपुर्वक दुई सय ९३ नगरपालिका र ७५३ पालिकामध्ये सुर्यविनायक नगरपालिकालाई उच्च राख्नका लागि हरदम चौबीसै घन्टा, १८ सय २५ दिन मैले तपाईको सेवा गर्ने म्यान्डेट पाएको छु । यो अवधिभरि इमानदारीपुर्वक काम गर्नेछु ।

अन्तमा, नगरपालिकाको भाग्य भविष्यलाई उच्च राख्नका लागि प्रयास गर्नेछु । आगामी दिनमा नगरबासीको शीर उच्चो राख्नका लागि हरबखत कोसिस गर्नेछु । मेरो इमानदारीतामा आँच आउन दिनेछैन । तपाईको सेतो कपडामा दाग लाग्न दिनेछैन । नगरबासीको हितमा काम गर्नेछु । मेरो सम्पत्ति नै नगर र नगरबासीको हितमा काम गर्नु हो । मैलै लोभ, मोह र ब्यक्तीगत स्वार्थ त्यागेर समाजसेवामा होमिएको छु । । मलाई अरु केहि चाहिदैन यहाँहरुको माया भए पुग्छ । समृद्ध सुर्यविनायक नगरपालिका बनाउन हरबखत प्रयास गर्नेछु । धन्यवाद ।

सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले गृह क्षेत्र वडा नं १० चित्तापोलमा टोलबासीले आयोजना गरेको बधाई ज्ञापन तथा सम्मान कार्यक्रममा राख्नु भएको मन्तब्यको सम्पादीत अंश ।


प्रकाशित | १५ जेष्ठ २०७९, आईतवार १७:१८