१८ पालिकाको अन्तिम नतिजा आउन बाँकी, त्रियुगा र बुढी गंगा नगरमा अझै मतगणना सुरू हुन सकेन

काठमाडौँ। स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ। मंगलबार बिहानसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगर, १० उपमहानगरसहित ७३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

५ महानगरपालिकासहित १८ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । २ वटा पालिकाको मतगणना अझै सुरू भएको छैन ।
सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ । दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ।

अब आउन बाँकी रहेको पालिकामा बागमती प्रदेशबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिका बाँकी छन्। प्रदेश १ बाट उदयपुरका दुई वटा पालिका, मधेश प्रदेशबाट रौतहटका ४, सिराहा, बारा र पर्साबाट १/१ पालिकाको अन्तिम नतिजा आउन बाँकी छ । गण्डकीबाट पोखरा महानगरपालिका बाँकी हुँदा लुम्बिनीबाट रूपन्देहीको तिलोत्तमा नगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ। कपिलबस्तुबाट महाराजगन्ज नगरपालिका र दाङबाट तुलसीपुर उपमहानगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ।

यस्तै सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढीगंगाको अन्तिम परिणाम आउन बाँकी छ । बाँकी रहेका १८ मध्ये उदयपुरको त्रियुगा र बाजुराको बुढी गंगा नगरपालिकामा विवादका कारण मतगणना सुरू हुन सकेको छैन । बाँकी १६ वटा पालिकामा भइरहेको गणना अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले समान ४/४ पालिकामा अग्रता लिइरहेका छन्। जनता समाजवादी पार्टीले ३ पालिकामा अग्रता लिँदा माओवादी केन्द्रले २ वटा पालिकामा अग्रता लिएको छ । एकीकृत समाजवादी, लोसपा र स्वतन्त्रले एक(एक पालिकामा अग्रता लिएका छन्।


प्रकाशित | १० जेष्ठ २०७९, मंगलवार ०७:४१