यौनहिंसाका आरोपितलाई कानुनी दायरामा ल्याउन सरकारलाई सभामुख सापकोटाको निर्देशन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरिएको घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार गरिएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए । त्यसपछि सभामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् ।

सरकारलाई निर्देशन दिँदै सभामुख सापकोटाले भने, माननीय सदस्यहरू, माननीय सदस्यले आफ्नो भनाइ राख्दै गर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसासम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु ।

नेपाली कांग्रेसका सांसद थापाले सामाजिक सञ्जालमा एक युवतीले ८ वर्ष अगाडि बलात्कृत भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै अभियोग लागेको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकार समक्ष माग गरेका थिए । उनले बलात्कारको घटनाको हदम्यादको सम्बन्धमा पनि पुनर्विचार गर्नुपर्ने पनि बताएका थिए ।

उनले भने, सम्माननीय सभामुख महोदय, हिजो साँझ घर जाँदाखेरि श्रीमती र दुईवटा साना-साना छोरीहरू सामाजिक सञ्जालमा आएको एउटा नौजवान युवतीको एउटा भिडियो‚ जसमा ८ वर्षअगाडि आफूलाई बलात्कार गरेको घटनाको उनले बताइरहेकी थिइन् । त्यो हेरिरहेको, त्यसको प्रतिक्रिया उनीहरूको अनुहारमा परेको, मेरो छोरी डराएको म त्यो क्षण अहिले सम्झिरहेको छु । त्यसैले म यो विषयमा प्रवेश गर्नुभन्दा पहिला सम्माननीय सभामुखमार्फत् नेपाल सरकारलाई यत्रो विषय सार्वजनिक भइसकेपछि तत्कालै जसलाई अभियोग लागेको छ, तत्कालै अनुसन्धानको दायरामा ल्याउनको निम्ति हार्दिक आग्रह गर्न चाहान्छु ।

सांसद थापाले फौजदारी संहिताको हदम्यादको व्यवस्था फेर्न पनि माग गरे । ुयही संसद्‌बाट बनाएको बलात्कारसम्बन्धी कानुन हाम्रो फौजदारी संहिताको खासगरी हदम्यादसम्बन्धी विषयको सम्बन्धमा पुनर्विचार गर्न पनि सरकारलाई निर्देशन दिनका लागि सम्माननीय सभामुखलाई हार्दिक अनुरोध गर्न चाहान्छु, उनले भने ।

एक युवतीले केही दिनअघि सामाजिक सञ्जालमार्फत आफूलाई ८ वर्षअघि सुन्दरी प्रतियोगिताको आयोजकबाट बलात्कार भएको घटना सार्वजनिक गरेकी थिइन् । उनले सो घटनामा केही व्यक्तिहरूको संलग्नता देखाएकी थिइन् ।


प्रकाशित | ६ जेष्ठ २०७९, शुक्रबार १६:१७