निर्वाचनको तयारी पूरा, लोभ, लालचमा नपरी मतदान गर्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले कसैको लोभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न मतदाताहरूलाई आग्रह गरेको छ । बिहीवार पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले लोभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न आम मतदाताहरूलाई आग्रह गर्नु भएको हो ।

उहाँले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारी पनि पूरा भइसकेको जानकारी दिनु भयो । प्रमुख आयुक्त थपलियाले निर्वाचनका लागि शान्ति सुरक्षाको सबै प्रवन्ध मिलाइ सकिएको र मतपेटिकाको सुरक्षा र सकिएपछि सबै मतपेटिका लैजाने काममा पनि सुरक्षित तवरबाट गरिने व्यवस्था मिलाएको बताउनु भयो ।

प्रमुख आयुक्त थपलियाले कसैको प्रलोभनमा नपरी, सही तरिकाबाट निर्धक्क भएर मतदान गर्न र मतदान कार्यलाई सफल बनाइदिन सम्पूर्ण मतदाताहरूलाई आग्रह गर्नु भयो ।


प्रकाशित | २९ बैशाख २०७९, बिहीबार १९:१२