भयरहीत रूपमा मतदान गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं : सरकारले स्थानीय तहको निर्वाचनमा आम नागरिकहरूको भूमिका महत्वपूर्ण हुने भएकाले भयरहीत रूपमा मतदान गर्न आग्रह गरेको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सरकारी स्तरबाट विभिन्न श्रोत, साधनहरू परिचालित भइसकेको र स्वयं मतदाताहरूको भूमिका पनि महत्वपूर्ण हुने भएकोले संयमित भएर मतदान गर्न आग्रह सरकारले आग्रह गरेको हो ।

सरकारले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनमा केन्द्रित गरेर सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइसकेको जनाएको छ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले प्रत्येक जिल्लामा सुरक्षा योजना बनाएर त्यसैअनुसार सम्पूर्ण सुरक्षा परिचालित भएको बताउनुभयो ।

स्थानीय निकायको निर्वाचनका लागि राज्यले चुस्त, दुरुस्त सुरक्षा व्यवस्थापन गरेको प्रवक्ता पोखरेलले बताउनुभयो । अहिले राज्य नै निर्वाचनमय भएकोले निर्वाचन शन्तिपूर्ण रूपमा सम्पन्न हुने उहाँको विश्वास छ ।

पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढिरहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि आग्रह गर्नुभयो । विदेशबाट स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न आउने नागरिकहरूले पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर थप जोखिम हुनबाट बचाउन अनुरोध गर्नुभयो ।

सरकारले कोरोनाको जोखिम कम गर्न सीमा नाकाहरुमा स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारसँगको समन्वयमा हेल्थ डेस्कहरू राखेको जानकारी दिँदै प्रवक्ता पाखेरेलले कोरोनाको जोखिम कम गर्न सरकारले स्वास्थ्य मन्त्रालयसँग समन्वय र छलफल गरिरहेको पनि स्पष्ट पार्नुभयो ।


प्रकाशित | २७ बैशाख २०७९, मंगलवार १७:२९