स्थानीय तह निर्वाचन : मौन अवधि भोलि रातिबाट सुरु

काठमाडौँ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ । सोमबार निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने जानकारी दिनुभयो ।

उहाँले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्टहरु हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिनुभएको छ । प्रवक्ता पौडेलले भन्नुभयो, ‘‘मौनअवधि वैशाख २७ गते राति १२ बजेदेखि सुरु हुने तथा उम्मेदवार र उनीहरुका फ्यानहरुको टिकटक, ट्वीटरलगायतको पेजहरुमा स्पोन्सर पोस्ट हुनसक्ने भएकाले सबै उम्मेदवार तथा फ्यानहरुलाई मौन अवधि सुरु हुन अगाडि सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्टहरु हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिन तथा सोको आवश्यक नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।’’

त्यस्तै, आयोगले मङ्गलबार राति १२ बजेबाटै मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ ।
आयोगले तोकिएको अवधि र ठाउँमा मादक पदार्थ बिक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।

यसैगरी, आयोगले कालो, रातो, नीलो वा हरियोमध्ये कुनै मसी प्रयोग भएको कलम वा डटपेनले मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउन पनि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई सचेत गराएको छ ।


प्रकाशित | २६ बैशाख २०७९, सोमबार २२:११