चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन : राजदूत होउ यान्छी

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन भएको बताउनुभएको छ । चिनियाँ दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बिहिबार उहाँले नेपाल–चीनबीच पछिल्लो समयमा भएको द्वीपक्षीय व्यापारको तथ्यांकले त्यो नदेखाउने दावी गर्नुभयो ।

नेपाल र चीनबीच १ अर्ब ७७ करोड अमेरिकी डलरको व्यापार भएको भन्दै उहाँले यो अघिल्लो समयको भन्दा ६३ प्रतिशतले बढी रहेको बताउनुभयो ।

तातोपानी र रसुवागढी नाकाबाट सीमापार व्यापार सुधार्ने विषयमा नेपाल र चीनको तिब्बत क्षेत्रका अधिकारीबीच एक महिनाभित्र बैठक हुन लागेको चिनियाँ राजदूत यान्छीले बताउनुभयो ।

उहाँले कोरोना महामारीका कारण सिधा हवाई उडान रोकिएको र त्यसलाई पुनः सञ्चालन गर्ने विषयमा छलफल भइरहेको पनि बताउनु भयो ।

दुई वर्षअघि कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु हुँदा चीनले सङ्क्रमणको जोखिम कम गर्नका लागि भन्दै व्यावसायिक यात्रुवाहक उडानमा प्रतिबन्ध लगाएको थियो।


प्रकाशित | ८ बैशाख २०७९, बिहीबार १५:३७