प्रदेश १ को नाम कोशी राख्ने तयारी: राजधानी विराटनगर

विराटनगर : प्रदेश नं १ को राजधानी र नामांकरणको विषय अझै टुंगो लाग्न सकेको छैन । अबको केहि साताभित्रै नामाकरण र राजधानी टुंगो लगाउने गृहकार्य चलिरहेको छ । थद्यपी नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाई रहेको प्रदेश सरकारमा नेकपाको निर्णय नै अन्तिम हुनेछ । त्यसो त नेकपाभित्रै नामको विषयमा एकमत भने हुन सकेको देखिन्न । पूर्व एमालेले कोशी नाम राख्नुपर्ने प्रस्ताव राखेको छ भने पूर्व माओवादी समर्थकले किरात राख्नुपर्ने अडान लिएका देखिन्छन् । तर शीर्ष नेताहरुमा नाम कोशी राख्ने र राजधानी विराटनगर कायम गर्ने सहमती भएकोे बुझिइएको छ ।

धनकुटा राजधानी राख्ने विषयमा विवाद हुने देखिएपछि मुख्यमन्त्री शेरधन राईले खारेज भएको पूर्वाञ्चल क्षेत्रीय कार्यालयको भवनलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सम्पर्क कार्यालय खडा गरेर राजधानी तोक्ने निर्णय अगावै विवाद साम्य बनाउने प्रयास गरिएको बताइन्छ । उता मुख्यमन्त्री शेरधन राईले शनिबारै एक कार्यक्रममा बोल्दै सो कुराको संकेत गराइसक्नुभएको छ । प्रदेशको स्थायी राजधानी विराटनगर आसपास क्षेत्रमा रहने गरी टुङगिएको बताउँदै राईले सो कुराको पूर्वसंकेत गराउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेशस्तरीय बैठकले स्थायी राजधानीको विषयमा निर्णय गरेको र नामकरणका सम्बन्धमा छलफल जारी रहेको बताउनुभएको छ । पार्टीबाट टुङ्ग्याइएको राजधानीको विषयमा संसदीय दलमा छलफल भई सहमति कायम गरी प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य दलसँग आवश्यक परामर्श गरी यही वैशाख २२ गते ११ गते बस्ने प्रदेशसभा बैठकमा दर्ता गरी वैशाख २३ गते सार्वजनिक गरिने जानकारी गराउनुभयो ।


प्रकाशित | २१ बैशाख २०७६, शनिबार १२:२६