पूर्वी युक्रेनमा दोस्रो चरणको युद्ध सुरु , अनुमान गरेभन्दा ठूलो हमला

काठमाडौँ- रुसी सेनाले पूर्वीयुक्रेनमा ठूलो हमला गरेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दोनबासमा रुसी सेनाले अनुमान गरेभन्दा ठूलो हमला गरेको बताउनुभएको छ।

रुसी सेनाको डटेर प्रतिकार गर्ने राष्ट्रपति जेलेन्स्कीले बताउनुभएको छ । ​दोनबासमा रुसले ठूलो संख्यामा सेनाहरू परिचालन गरेको छ । दोनबासमा थालिएको हमला ‘दोस्रो चरणको युद्धको शुरुवात’ भएको जेलेन्स्कीका प्रमुख सहयोगीले बताउनुभएको छ ।

युक्रेनको राष्ट्रपति कार्यालयका चिफ अफ स्टाफले दोस्रो चरणको युद्ध सुरु भएको बताउनुभएको छ । पूर्वी युक्रेनमा रुसले गरेको नयाँ आक्रमणलाई संकेत गर्दै उहाँले युक्रेनमा दोस्रो चरणको युद्ध भएको बताउनुभएको हो । यसअघि युक्रेनका शीर्ष सुरक्षा अधिकारीहरूले रसियाले सोमबार बिहान आफ्नो नयाँ आक्रमण सुरु गरेको बताउनुभएको थियो ।

‘हाम्रो सेनामा विश्वास गर्नुहोस् । यो धेरै बलियो छ’, चिफ अफ स्टाफ एन्ड्री यर्माकले भन्नुभयो । युक्रेनी सेनाले रुसी हमलाको प्रतिकार गर्न सक्ने उहाँले बताउनुभयो । रुसले सोमबार युक्रेनका मुख्य सहरहरूमा मिसाइल प्रहार र गोलाबारी गरेको थियो । ती हमलाहरूमा कम्तीमा ९ जना मारिएका छन् भने कही घाइते भएका छन् ।


प्रकाशित | ६ बैशाख २०७९, मंगलवार ०८:३४