हावाहुरी प्रभावित क्षेत्रमा आवास निर्माणको काम शूरु : वर्षा अगाडि नै आवास निर्माण गर्न निर्देशन

काठमाण्डौ : बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा घर निर्माणको कार्य थालनी गरिएको छ । नेपाली सेनाले राको फेटा गाउँपालिका ६ पुरैनियाका इजहार मियाँको घर शिलन्यास गरी काम सुरु गरेको हो । सेनाले साउनको मध्यसम्ममा सम्पन्न गर्ने गरी बारामा एक हजार ३ सय ६२ तथा पर्सामा ९१ वटा घर बनाउनेछ ।

बाराको पुरैनिया, भलुहीभरवलीया, हर्दिया, पर्सुरामपूर, तेलगाइ, बेनौली, रमपूर्वासहित १० ठाउँ र पर्साको चैनपुर र उदयपुरघुर्मीमा गरी १२ ठाउँमा एकैसाथ घर निर्माणका लागि काम सुरु गरिएको छ । गएको चैत १७ गते आएको हावाहुरीमा परेर २८ जनाको ज्यान जानुका साथै झण्डै २ हजार बढी घरमा क्षति पुगेको थियो ।

चैत १७ गते बारा पर्सामा आएको विनाशकारी हावाहुरीबाट प्रभावितका लागि जनता आवास निर्माण कार्ययोजनाको उपप्रधान तथा रक्षा मन्त्ती इश्वर पोखरेलले घर निर्माणको शिलान्यास गर्नुभयो । उहाँले तत्काल आवासका लागि घर बनाउन लागे पनि सरकारले एकीकृत बस्तीको योजना ल्याउने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले प्रारम्भ गरिएको जनता आवासमा कुनै किसिमको ढिलाइ नगरी वर्षा अगाडिनै आवास निर्माण गर्न सेनालाई निर्देशन दिनुभयो । सो आवास निर्माण गर्दा केही समस्या आए प्रदेश र स्थानीय सरकार मिलेर समाधान गर्नुपर्ने बताउँदै उपप्रधानमन्त्री पोखरेलले सेनाले निर्माण गर्ने जनता आवास कार्यक्रममा स्थानीय, प्रदेश सरकारसहित सबैको सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्रीद्वय ईश्वर पोखरेल र उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा तथा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, खानेपानी मन्त्री विना थापामगर र भूमी व्यवस्था सहकारी मन्त्री पद्माकुमारी अर्याल सहभागि हुनुहुन्थ्यो ।


प्रकाशित | २१ बैशाख २०७६, शनिबार ११:०८