अर्थतन्त्र सही दिशामा छ, श्रीलंका जस्तै हुन्छ भनेर अफवाह फैलाइयो : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सही दिशातीर गइरहेको दावी गर्नु भएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले देशको अर्थतन्त्रमा कुनै ठूलो संकट नआएको र अर्थतन्त्र सही दिशाउन्मुख रहेको दावी गर्नु भएको हो ।

अर्थमन्त्री शर्माले देश श्रीलंका जस्तो हुन्छ भनेर अफवाह फैलाइएकोमा आपत्ति पनि जनाउनु भयो । उहाँले श्रीलंका बनाउन किन चासो भइरहेको छ भन्दै प्रश्न पनि गर्नु भयो । सरकारले बृद्धभत्ता समेत दिन नसक्ने भनेर गरिएको दाबी अफवाह र झुठो भएको उहाँको भनाइ छ ।

‘देशको अर्थतन्त्र सही दिशाउन्मुख छ, तर नियोजित रुपमा श्रीलंका जस्तो टाट पल्टिन लागेको भन्दै केहीले राजनीतिकरण गर्न खोजेका छन्, जनतामा यस्को भ्रम छरेर आतंकित नबनाउन म सबैलाई आग्रह गर्न चाहन्छु,’ उहाँले भन्नु भयो ।

केही ब्यक्तिहरु मुलुकलाई जसरी पनि श्रीलंका बनाउन लागिपरेको भन्दै त्यो पुरा नहुने पनि बताउनु भयो ।

चालु आवको फागुन मसान्तसम्म ११ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको र जुन ६।७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको मन्त्री शर्माले बताउनु भयो ।

नेपालको कुल वैदेशिक ऋण १८ खर्ब रुपैयाँ भएको र चालु आर्थिक वर्षमा विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि सरकारले ४० अर्ब रुपैयाँ मात्रै खर्च गर्नुपर्ने अवस्था रहेकाले देशको अर्थतन्त्र कुनै पनि कोणबाट श्रीलंकाको जस्तो हुनै नसक्ने मन्त्री शर्माको भनाइ छ


प्रकाशित | २८ चैत्र २०७८, सोमबार १८:३८