स्थानीय तह चुनावका लागि १ करोड ९४ लाख थान मतपत्र छाप्ने काम सुरु

काठमाण्डौ – स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम शुरु भएको छ । आउँदो वैशाख ३० गते हुने निर्वाचनका लागि एक करोड ९४ लाख थान मतपत्र छपाइको काम सुरु भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइको काम सुरु भएको जानकारी दिनुभयो । मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार जना भए पनि आठदेखि २५ प्रतिशतसम्म जगेडा राख्नुपर्ने भएकाले एक करोड ९४ लाख थान छापिएको प्रवक्ता शर्माले बताउनुभयो ।

प्रवक्ता शर्माका अनुसार मतपत्रमा सबैभन्दा धरै काठमाण्डौको मतपत्र ५६ लहरको हुने र सबैभन्दा कम डोल्पाको मतपत्र १६ लहरको हुनेछ । दुर्गममा ढुवानीको समस्या हुने र समय लाग्ने भएकाले पहिला दुर्गमको मतपत्र छापिसकेपछि मात्रै सुगम जिल्लाका लागि मतपत्र छापिने छ ।

यसैबीच निर्वाचन आयोगले विभिन्न दल र उम्मेदवारलाई मतदाता नामावली उपलब्ध गराउने शुल्क र प्रक्रिया पनि तय गरेको छ । दलको आधिकारिक पत्रका आधारमा देशैभरका मतदाताको नामावली निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट उपलब्ध गराउने र यसका लागि सात हजार रुपैयाँसहित निवेदन दिनुपर्नेछ ।

यस्तै कुनै प्रदेशका मतदाताको नामावलीका लागि पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ । यस्तै जिल्लामा दल वा उम्मेदवारको सिफारिसका आधारमा तीन हजार रुपैयाँ तिरेर मतदाता नामावली पाइनेछ भने कुनै पालिकाभरका मतदाताको नामावलीका लागि एक हजार र वडाका मतदाताको नामावलीका लागि पाँच सय रुपैयाँ तिर्नुपर्ने जनाइएको छ ।


प्रकाशित | २१ चैत्र २०७८, सोमबार १८:५४