लगानी सम्मेलनको तयारी पूरा : ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित ६ सय भन्दा बढी विदेशी लगानीकर्ताको सहभागिता रहने

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले यही चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी पुरा भएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले दुई दिने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिँदै सम्मेलनमा ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डल लगायत ६०० भन्दा बढी विदेशी लगानीकर्ताको उपस्थिति रहने बताउनुभयो ।

उक्त सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गरिने जानकारी दिइएको छ ।

मन्त्री खतिवडाका अनुसार लगानीमैत्री वातावरण तयार पार्न चाहिने ऐन निर्माण भइसकेको छ । सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ता, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, नेपाली निजीक्षेत्र, गैर–आवासीय नेपाली तथा विकास साझेदार संस्था, लगायतको सहभागिता रहने छ ।

सम्मेलनमा म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुङ, विश्व बैकका उपाध्यक्ष हार्टविग स्याफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तर्गतको बहुपक्षीय लगानी प्रत्यभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केइको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा नीजि क्षेत्र सम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एसियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालन सम्बन्धी उपाध्यक्ष डोङ ली, माइक्रोसफ्ट, अमेजन, पावर चाइना, चाइना रेलवे, डाबर युनिलिभर लगायतका उच्च पदस्थ पदाधिकारीको सहभागी हुने लगानी बोर्डले जनाएको छ ।

त्यसैगरी सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गरिने तयारी भएको अर्थमनत्री खतिवडाले जानकारी दिनुभयो ।


प्रकाशित | १३ चैत्र २०७५, बुधबार २१:३८