चीनमा १३२ जना सवार विमान दुर्घटनाग्रस्त

चीनमा १३२ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ । चाइना ईस्टर्न एअरलाइन्सको बोइङ विमान ग्वाङ्शी प्रान्तमा दुर्घटनामा परेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको हो।

चीनको नागरिक उड्डयन प्रशासनले विमानमा १२३ जना यात्रु र नौजना चालकदलका सदस्य रहेको जनाएको छ। दुर्घटनाको कारण र कति मानिस हताहत भए भन्ने विवरण आइसकेको छैन।

पहाडी भेगमा भएको बोइङ ७३७ जेट दुर्घटनाका कारण जङ्गलमा आगो लागेको देखिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

सन् २०१० मा उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको यिचुनमा भएको दुर्घटना पछि चीनमा यो पहिलो हवाई दुर्घटना हो। यिचुन दुर्घटनामा ४४ जनाको मृत्यु भएको थियो।

एमयू ५७३५ विमान दक्षिणपश्चिम चीनको युनान प्रान्तको कुनमिङ चाङसुई विमानस्थलबाट १ बजेर १५ मिनेटमा उडेको थियो र ३ बजेर ७ मिनेटमा दक्षिण चीनको ग्वाङडोङ प्रान्तको ग्वान्झाउमा पुग्ने कार्यक्रम थियो। फ्लाइट ट्र्याकिङ गर्ने बेवसाइटहरूका अनुसार विमान एक घण्टाजति आकाशमा थियो।

चिनियाँ सञ्चारमाध्ममका अनुसार उद्धारकर्ताहरू घटनास्थलमा परिचालित भइसकेका छन् ।

‘हामीले २५ वटा दमकल र ११७ दमकल घटनास्थलमा पठाएका छ, तर दुर्घटनास्थल निकै दुर्गम र पहाडमा भएकाले भग्नावशेषमा दमकल पुग्न सकेको छैन,’ ब्रिगेडका एक अधिकारीले भने।

उक्त विमान चाइना इस्टर्न एयरलाइन्सको युनान सहायक कम्पनी बोइङ ७३७ हो र यो साढे छ वर्षदेखि सञ्चालनमा आएको हो । यो विमान सन् २०१५ को जुनमा संचालनमा आएको थियो।

विमानमा १२ बिजनेस क्लास सिट र १५० इकोनोमी क्लास सिट गरी जम्मा १६२ सिट रहेको ग्लोबल टाईम्सले जनाएको छ ।


प्रकाशित | ७ चैत्र २०७८, सोमबार १६:०२