मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउने प्रधानमन्त्रीको घोषणा

क्वालालम्पुर – मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री दातुक सेरी इस्माइल साबरी याकोबले आगामी मे १ देखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट कार्यान्वयन गर्ने घोषणा गर्नु भएको हो ।

शुक्रबार मात्र मानव संशाधन मन्त्री दतुक सेरी एम सरावनले अर्को महिना वा ढिलोमा दुई महिनाभित्र श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्याउने तयारी भइरहेको बताउनु भएको थियो ।

‘सरकार जीवनयापनको लागतमा भएको बृद्धि र यसको प्रभावको बारेमा सचेत छ । त्यसैले, म यो घोषणा गर्न चाहन्छु कि प्रतिमहिना १५ सय रिंगेट न्यूनतम पारिश्रमिक आगामी मे १ बाट देशव्यापी रूपमा सुरु हुनेछ’, शनिबार मलेसियामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री साबरीले भन्नु भयो ।

हालको न्यूनतम पारिश्रमिक १ हजार दुई सय रिंगेटबाट बढाएर पाँच वा सोभन्दा बढी कर्मचारी भएका निजी क्षेत्रका कम्पनीलाई मात्रै लागू हुने पनि उहाँले बताउनु भयो । सरकारले यसअघि संशोधित न्यूनतम पारिश्रमिक वर्षको अन्त्यसम्म लागू गर्ने बताएको थियो ।

श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने घोषणासँगै नेपाली श्रमिकहरु समेत लाभान्वित हुने भएका छन भने उनीहरुको न्यूनतम पारिश्रमिक साढे त्रिचालीस हजारको हाराहारीमा पुग्ने देखिन्छ ।


प्रकाशित | ५ चैत्र २०७८, शनिबार १७:१७