श्रममन्त्री श्रेष्ठ आबुधावीमा, आज नेपाल -युएई संयुक्त समितिको बैठक बस्दै

आबुधावी –  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएई आइपुग्नु भएको छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली सोमबार (हिजो) यूएईको राजधानी आबुधाबी आइ पुग्नु भएको हो ।

आबुधाबी आइपुग्नु भएको श्रेष्ठ आज नेपाल र संयुक्त अरब इमिरेट्स यूएईको संयुक्त समितिको बैठकमा सहभागि हुँदै हुनुहुन्छ ।

बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संसाधन मन्त्री डा..अब्दुलरहमान अब्दुलमानन अल अवारले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

उद्घाटन सत्रपछि प्राविधिक समूहको बैठक बस्दैछ । सो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नुहुनेछ ।

बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम सम्झौता कार्यान्वयनबारे समीक्षा हुनेछ भने यसअघि भएको संयुक्त समितिको बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे छलफल हुने जनाइएको छ ।

बैठकमा वैदेशिक रोजगारीका लागि यूएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सिप विकास, पारिश्रमिक वृद्धि लगायतका विषयमा पनि छलफल हुनेछ ।

साथै पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीको समस्या समाधानबारे पनि छलफल हुने जनाइएको छ ।

श्रममन्त्री श्रेष्ठ र यूएईका समकक्षी डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच पनि आजै भेटवार्ता पनि हुने कार्यक्रम तय भएको छ ।


प्रकाशित | १ चैत्र २०७८, मंगलवार ०९:४३