साउदी अरबद्वारा एकैदिन ८१ जनालाई मृत्युदण्ड

रियाद  – साउदी अरबले एकैदिन ८१ जनालाई मृत्युदण्ड दिएको छ । साउदीले आतङ्कवादसँग सम्बन्धित विभिन्न अपराधमा स‌ंलग्न ८१ जनालाई एकैदिन मृत्युदण्ड दिएको हो ।

८१ जनामध्ये ७३ जना साउदीका, सात जना यमनका र एक जना सिरियाका नागरिक रहेको साउदीका अधिकारीलाई उदृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ ।  गत वर्ष साउदी अरबमा ६९ जनालाई मृत्युदण्ड दिइएको थियो।

मृत्युदण्डको सजाय पाएकाहरु इस्लामिक स्टेट समूह, यमनको हुथी विद्रोही सेना र अल–कायदासँग सम्बद्ध रहेको जनाइएको छ ।

उनीहरूले महत्त्वपूर्ण आर्थिक स्थलहरूमा आक्रमण गर्ने योजना बनाएका, सुरक्षा बलका सदस्यहरूलाई निसाना बनाएका वा हत्या गरेका र देशभित्र हतियार लुकाएका अदालतको फैसलामा उल्लेख छ ।

अन्य अपराधहरूमा अपहरण, यातना, बलात्कार, राज्यमा हतियार र बमको तस्करी, सरकारी कर्मचारीहरू र महत्त्वपूर्ण आर्थिक साइटहरूलाई लक्षित गर्ने लगायतका रहेको अरव न्युजले जनाएकोछ ।

अरवी न्युजका अनुसार प्रत्येक व्यक्तिको लागि साउदी अदालतहरूमा पक्राउ गरी मुद्दा चलाइएको थियो।


प्रकाशित | २९ फाल्गुन २०७८, आईतवार १२:१६